सिरियामाथि सैन्य समर्थन जुटाउन ओबामाद्धारा जनतालाई सम्बोधन

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामाथि सिमित सैन्य कारबाहीका लागि समर्थन जुटाउन टेलिभिजनमार्फत अमेरिकी जनतालाई सम्बोधन गरेका छन् । अमेरिकी टेलिभिजनहरुबाट प्रसारण गरिएको टेलिभिजन भाषणमा ओबामाले सिरियामाथिको सैन्य हस्तक्षेप अमेरिकी सुरक्षा हितका साथै आतंकबाद उन्मुलनको कदम हुने बताएका छन् ।


अमेरिकी कांग्रेसमा ओबामाको सिरिया आक्रमणको प्रस्तावमा मतदान हुने दिन नजिकिदै जांदा यो टेलिभिजन भाषण आएको हो । अमेरिकी कांग्रेसका बहुमत सदस्य र धेरै अमेरिकी जनता सिरियामाथि अमेरिकी हमलाको विपक्षमा रहेको आंकलन गरिएको छ । ओबामाले सिरियामाथि गरिने सैन्य हस्तक्षेप स्थलगत नभई हवाई हमला हुने स्पष्ट पारेका छन । सिरियामाथिको सैन्य हस्तक्षेप तानाशाहरुका लागि नयाँ पाठ हुने धारणा राख्दै ओबामाले सिरियामाथि सैन्य हस्तक्षेप नगरेमा बिश्वभर बिनाशकारी हतियारको प्रयोग बढ्ने दाबी समेत गरे ।


 रुस र चीनले सिरियामाथिको हस्तक्षेपको बिरोध गरेतापनि ओबामाले युरोप,एशिया र मध्यपूर्वको समर्थन जुटाउने स्पष्ट पारेका छन् । सिरियामा गत दुई साता अघि भएको रासायनिक हतियार आक्रमणमा १४ सय भन्दा बढी सर्वसाधारण मारिएका थिए । सो आक्रमण सिरिया सरकारले गरेको भन्ने अमेरिकी दावीलाई सिरियाले अश्वीकार गर्दै आएको छ ।

 

AGENCIES