सिरियाको रासायनिक हतियारबारे संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका पांच स्थायी सदस्य देशका राजदुतहरुले न्युयोर्कमा छलफल गरेका छन् । सिरियाको रासायनिक हतियार राष्ट्रसंघको नियन्त्रणमा ल्याउनेबारे रुसले अघि सारेको प्रस्तावबारे उनीहरुबीच छलफल भएको छ । तर कस्तो प्रस्ताव ल्याउने भन्ने बारेमा भने रुस र अमेरिका, बेलायत र प्रान्सवीच अझै सहमति नभएको बताईएको छ ।
सिरियाको रासायनिक हतियार राष्ट्रसंघको नियन्त्रणमा ल्याउनेबारेमा अमेरिका र रुसवीच अलग्गै वार्ता पनि हुने भएको छ । सिरियाले रुसको प्रस्तावलाई स्वीकार गरिसकेको छ । दमास्कस आसपासका क्षेत्रमा रासायनिक आक्रमणमा झण्डै १ हजार ५ सय जनाको मृत्यु भए पछि त्यसमा सिरिया सरकार दोषी रहेको आरोप लगाउंदै अमेरिकाले आक्रमणको चेतावनी दिएको थियो । रुसी प्रस्ताव आएपछि सिरियामा आक्रमणबारे अमेरिकी संसदमा हुने भनिएको मतदान स्थगित गरिएको छ ।