काठमाडौं – प्रधानन्यायाधीशबाट राजीनामा दिए मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई स्वीकार्ने बताउँदै मंसिर ४ गतेको घोषित चुनावमा पनि सहभागी हुने मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका सचिव देव गुरुङले बताएका छन् ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा दिए स्वीकार्ने बताउँदै उनले मंसिर ४ गतेको घोषित चुनावमा पनि सहभागी हुने बताए । रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराएर दलहरुको सहमतिमा अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम सरकार बनाएर मंसिर ४ मा घोषित निर्वाचनमा सहभागी हुन आफुहरु तयार रहेको उनको भनाइ छ ।
‘व्यक्तिको विषयमा खुला छौं,’ रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘स्वतन्त्र वा दलको व्यक्तिले नेतृत्व गर्ने भन्ने विषयमा हाम्रो कुनै अडान छैन ।’ रेग्मीलाई नै दलले आफ्नो प्रतिनिधिको रुपमा पेश गरे पनि आपत्ति नमान्ने उनले बताए । गुरुङले शुक्रबार राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुने धारणा राखे ।
यथास्थितिमा चुनावमा सहभागी नहुने गुरुङको अडान थियो ।
साक्षात्कारमा एमाओवादी प्रवक्ता अग्नि सापकोटाले नेकपा-माओवादीलाई अबको तीन दिन भन्दा बढी पर्खेर बस्न नसक्ने स्पष्ट पारे ।
मंसिर ४ को निर्वाचनको लागि निर्वाचन आयोगले मतपत्र छाप्ने लगायतका विषयमा समय घर्किदै गएकोले छिटो गर्न भनिरहेकोले पनि अब धेरै दिन पर्खेर बस्न सक्ने अवस्था नरहेको उनको तर्क थियो ।
कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले निर्वाचन आयोगले दल दर्ता गर्न मानुन्जेलसम्म नेकपा-माओवादी सहितका असन्तुष्ट दलहरुसँग वार्ता गर्न तयार रहेको स्पष्ट पार्दै निर्वाचनलाई रोकेर भने कसैसँग वार्ता नहुने बताए ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले मंसिरमा निर्वाचन हुने कुरालाई बटमलाइन मानेर असन्तुष्टहरुको सबै माग पुरा गर्न तयार रहेको स्पष्ट पार्दै माओवादी तयार भए केही दिन पर निर्वाचन समेत सार्न सकिने बताए ।
राजावादीहरुसँग तालमेलको कुरा गर्नु, हतियार उठाउने चेतावनी दिनु जस्ता विषयले माओवादीमा वैचारिक समस्या रहेको स्पष्ट भएको दाबी गर्दै ज्ञवालीले माओवादीको आन्दोलनले प्रतिगमनलाई मात्रै फाइदा पुर्याउने ठोकुवा गरे ।
तपलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले मंसिरमा कसैले रोकेर निर्वाचन नरोकिने ठोकुवा गर्दै संविधानसभाको ऐजेण्डाको लागि आएको माओवादी त्यसविरुद्ध जानु विडम्बना पूर्ण भएको जिकिर गरे ।
समाचार स्रोत:- नेपाली अन्लाईन संचारमाध्यम