नेकपा-माओवादीद्धारा मंसिर ४ गतेका लागि तय गरिएको संविधानसभाको दोस्रो चुनाव चैतमा सार्न प्रस्ताव

नेकपा माओवादीले मंसिर ४ गतेका लागि तय गरिएको संविधानसभाको दोस्रो चुनाव चैतमा सार्ने र मन्त्रिपरिषदका अध्यक्षले प्रधानन्यायाधिश पदबाट राजीनामा दिनु पर्ने प्रस्ताव अघि सारेपछि राष्ट्रपतिले शुक्रबार डाकेको सर्वपक्षीय वैठक अनिर्णित रह्यो।


शितल निवास बैठकमा नेकपा माओवादीले राखेको मन्त्रिपरिषद अध्यक्षले दलीय सरकारको नेतृत्व गर्ने र गोलमेच सम्मेलनमार्फत सहमति जुटाउने प्रस्तावमाथि दलहरुले थप गृहकार्य गर्ने बताइएको छ।


सहमति जुटाउन उनीहरुको अर्को बैठक आइतबार बस्ने भनिएको छ।


मंसिरमा हुने भनिएको चुनावको सक्रिय बहिष्कार गर्ने मोहन वैद्य नेतृत्वको माओवादी सहितका असन्तुष्ट दलहरुको चेतावनीकामाझ ती दललाई चुनावमा सामेल गराउन राष्ट्रपति रामवरण यादवले सर्वपक्षीय भेलामार्फत सहमति जुटाउन आग्रह गरेका थिए।

शितल निवास बैठकमा नेकपा माओवादीले चुनाव चैतमा सार्नुपर्ने, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिएर उनकै नेतृत्वमा दलीय सरकार गठन हुनुपर्ने, गोलमेच सम्मेलन गर्नु पर्ने र दलहरुबीच संविधानका अन्तरवस्तु लगायतका विषयमा राष्ट्रिय सहमति जुटाउनु पर्ने चार बुँदे प्रस्ताव गरेको थियो।

 

बैठकमा सहभागी नेकपा माओवादीका एक जना नेता देव गुरुङले सहमति जुटाउने कार्य चुनौतीपूर्ण रहेको स्वीकारे।