काठमाडौ । राष्ट्रपतिको आब्हानमा शुक्रवार बसेको बैठकमा सहमतिलागि भन्दै नेकपा-माओवादीले प्रस्तुत गरेको ४ बुँदे प्रस्तावलाई लिएर पार्टीको धारणा बनाउने विषयमा नेपाली काग्रेसका नेताहरु विभाजित बनेका छन् ।
सभापति सुशिल कोइरालाको निवास महाराजगञ्जमा बसेको काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकमा माओवादीको प्रस्ताव दलगत धारणा बनाउने विषयलाई लिएर नेताहरु विभाजित बनेका हुन ।
एकथरी केन्द्रीय सदस्यहरुले नेकपा-माओवादी निर्वाचनमा आउने स्पष्ट आधार नदेखिएकोले अहिले निर्वाचनको मिति सार्ने विषयमा काग्रेस सहमत हुन नहुने तर्क गरेका थिए । उनीहरुले ४ बुँदे प्रस्ताव माओवादीको निर्वाचन सार्ने रणनीतिक प्रस्ताव भएको भन्दै अहिले निर्वाचन सार्ने विषयमा सहमति गरे फेरि कहिल्यै पनि निर्वाचन नहुने तर्क गरेका थिए ।
अर्का पक्षका नेताहरुले भने नेकपा-माओवादी विनाको निर्वाचनले निकास दिन नसक्ने भएकोले निर्वाचनमा लान सक्दो प्रयत्न गर्नु पर्ने भन्दै त्यसकोलागि मंसिर महिनाकै अर्को मिति तय गर्न काग्रेस तयार हुनु पर्ने तर्क गरेका थिए । दुई थरी धारणा आए पनि माओवादीको प्रस्तावको विषयमा पार्टीले आधिकारिक धारणा भने तय गर्न सकेन ।
बैठकपछि बरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीलाई निर्वाचनमा ल्याउन मंसिर भित्रकै नयाँ मिति तय गर्न सकिने बताए ।
प्रवक्ता दिलेन्द्र बडुले पनि माओवादीलाई ल्याउन मंसिर भित्रकै कुनै मितिमा जान काग्रेस तयार हुनु पर्ने भावना बैठकमा ब्यक्त भएको बताए ।
बैठकले छिट्टै संसदीय बोर्ड गठन गर्ने निर्णय पनि गरेको छ । जसकालागि सभापति कोइरालाले शिर्ष नेताहरुसँग छलफल गरेर निर्णय लिने छन ।
– Reporters Club Nepal