राजकुमार कार्की, प्रकाश बराल, ईकान्तिपुर
घोषित निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेकपा-माओवादीले सम्भावित उम्मेदवारलाई तर्साउन थालेको छ ।
माओवादीले जबरजस्ती उम्मेदवार बन्न खोजे जे पनि हुन सक्ने भन्दै चुनावबाट पछि हट्न चेतावनी दिएको छ । केन्द्रीय तहमा माओवादीको चेतावनीलाई शीर्ष नेताहरुले वास्ता नगरेपछि माओवादीले जिल्ला जिल्लामा सम्भावित उम्मेदवार तर्साउन थालेको हो ।
माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सम्भावित उम्मेदवारमात्र नभई कर्मचारीलाई पनि चुनावमा सहयोग नगर्न चेतावनी दिएका छन् । गजुरेलले मंसिर ४ मा संविधानसभा निर्वाचन गर्न खोजिए नेपालको इतिहासमै कहिल्यै नभएको बहिष्कार हुने बताए । बहिष्कारले निर्वाचनलाइ बढारेर लैजाने उपाध्यक्ष गजुरेलले ठोकुवा गरे ।
माओवादीले आयोजना गरेको मध्यमाञ्चल बन्दको समापन कार्यक्रममा गजुरेलले जवर्जस्ती निर्वाचन गर्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए ।
निर्वाचनमा उम्मेदवार बन्नेलाइ लेण्डुप दोर्जेको संज्ञा दिदै उपाध्यक्ष गजुरेलले हुँदै नहुने निर्वाचनको उम्मेदवारी नै दर्ता नगर्न सुझाए । निर्वाचनमा उमेद्वारी दर्ता नगरे शान्तिपूर्ण हुने अन्यथा त्यसलाई रोक्न जस्तोसुकै कदम चाल्नुपर्ने उनको भनाइ थियो । कस्तो कदम भन्ने उनले खुलाएनन् ।
बागलुङमा भने नेकपा-माओवादीको जिल्ला समितिले आगामी संविधानसभा निर्वाचनका लागि सम्भावित उमेदवारलाइ उमेदवारी फिर्ता लिन चेतावनी दिएको छ ।
सशक्त बहिष्कारको नीति लिएको माओवादीले ‘चार दलको सिन्डिकेट’मा हुने निर्वाचनले वैदेशिक हस्तक्षेत्र बढ्ने र देशको राष्ट्रियता खतरामा पर्ने भन्दै फिर्ता लिन आग्रह गरेको हो । आफ्नो दलले भनेझै गोलमेच सम्मेलनबाट बन्ने राजनीतिक दलको सरकारले गर्ने निर्वाचनमा मात्र भाग लिने माओवादीले बताएको छ ।
जिल्ला कमिटीको पूर्ण बैठकले सबै सम्भावित उमेदवारलाई फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको वैकल्पिक केन्द्रीय सदस्य टेकबहादुर केसीले बताए । साथै माओवादीले कर्मचारीलाई पनि यो निर्वाचनको माहोल बनाउने तथा सहयोग गर्ने काममा नलाग्न आग्रह गरेको छ ।