राष्ट्रपति रामवरण यादवको आहृवानमा शीतल निवासमा भएको सर्वदलीय छलफल पुन: असफल

काठमाडौं – राष्ट्रपति रामवरण यादवको आहृवानमा शीतल निवासमा आइतबार भएको सर्वदलीय छलफल पनि टुंगोमा पुगेन ।


असन्तुष्ट दलको नेतृत्व गरेको नेकपा-माओवादी र प्रमुख चार दलबीचको अडानले छलफल टुंगोमा पुग्न नसकेको हो । बैठकमा माओवादीले चुनाव चैतमा सार्ने अडान छाडेन ।


कांग्रेस उपसभापति रामचन्द्र पौडेलले उच्चस्तरीय राजनीतिक समितिले मोहन वैद्यले राखेकामध्ये गोलमेच सम्मेलन गर्न र समितिको नाम परिवर्तन गरेर मोर्चालाई सहभागी गराउन तयार भएको बताए । ‘तर उहाँहरुले सरकार फेर्ने अडान छाड्नुभएन,’ उनले  भने ।


राष्ट्रपतिको आहृवानमा सोमबार पुनः बैठक बस्नेछ ।


शुक्रबार भएको सर्वदलीय छलफलमा नेकपा-माओवादीले प्रस्तुत गरेको चारबुँदामा दलहरुबीच सहमति बन्न सकेको छैन । दलहरुले आन्तरिक छलफल गर्न समय माग गरेपछि छलफल आइतबारका लागि बैठक स्थगन भएको थियो ।


शुक्रबारको सर्वदलीय बैठकमा माओवादीले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिने, उनकै नेतृत्वमा राजनीतिक सहमतिको सरकार बनाउने, राष्ट्रिय सहमतिका लागि गोलमेच सभाको आयोजना र घोषित चुनाव चैतमा सार्ने प्रस्ताव गरेको थियो । – ईकान्तिपुर