कृष्ण खनाल (बुटवल टुडे)
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको एक मेडिकल पसलमा नक्कली डाक्टरबाट उपचार हुँदै आएको पाइएको छ।
त्यहाँ रहेको यमुना मेडिको फर्मामा बर्षौंदेखि डाक्टरको नाममा नक्कली डाक्टरबाट उपचार हुँदै आएको पाइएको हो। स्थापना भएको करिब दुई वर्षसम्म उक्त मेडिको फर्मामा डाक्टर शिक्षा अर्यालको नामबाट बिरामीहरूलाई उपचार हुँदै आएको थियो।
तर ती व्यक्तिले सम्बन्धित विषयमा विज्ञता हासिल नगरेको भेटिएको छ। उनीसँग काठमाडौंको नरदेवि आयुर्वेर्दिकमा अध्ययन गरेको प्रमाणपत्र भएपनि उक्त प्रमाणपत्र पनि नक्कली भएको प्रमाणित भएको छ। यति मात्र होइन उक्त मेडिको फर्माले एक किसिमको बिरामीलाई अर्कै प्रकृतिको बिरामीले प्रयोग गर्ने औषधि समेत दिने गरेको उजुरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा परेको छ। सन्धिखर्क गाविस विकास समिति वडा नम्बर-६ हललाईनमा रहेको उक्त मेडिकल हलले केही बर्ष यता नक्कली डाक्टरबाट उपचार गर्दै आएको र कागजात पनि नकल्ली रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले यही भदौ २७ गते बिहीवारबाट त्यस मेडिकल पसलमा सिलबन्दी गरेको छ।
केही दिन पहिला जन्डिस भएको बिरामीलाई दिन नहुने औषधि दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीको लागि निवेदन परेको थियो। सोही निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले थप अनुसन्धान गर्दा नक्कली कागजपत्र पेश गरी डाक्टर शिक्षा भनिने पार्वती अर्याल बोहोराले नरदेवि अस्पतालमा आयुर्वेदमा अध्ययन गरेको प्रमाण पत्र पेश गरेकी थिईन् तर उनको त्यो प्रमाणपत्रपनि नक्कली भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख (डीएसी) हिराबहादुर केसीले जानकारी दिए।
उनका अनुसार जिल्ला प्रशासन टोलीले सिलबन्दी गरी थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ। भने जिल्ला प्रहरी कार्यालयमा किर्ते सम्बन्धी मुद्दा समेत दर्ता भएको छ।
अर्घाखाँची प्रहरी प्रमुख डीएसपी केसीले भने- प्रशासनको सिलबन्दीपछि अहिले किर्ते गरेको भन्दै जिप्रकामा मुद्दा दर्ता भएको छ हामी अनुसन्धामा छौं। उनले थपे- त्यो मेडिकलले एकथरी बिरामीलाई अर्कोथरी औषधि दिएको समेत उजुरी परेको छ। अहिले अनुसन्धानको क्रम जारी रहेको कारण अनुसन्धानपछि थप कुरा बाहिर आउने जानकारी दिए। उता, अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले उक्त फर्माले औषधिको बिक्री वितरणको साथै बिरामीहरू पनि जाच गर्दै आएकोमा बिरामीहरूले जिल्ला प्रहरीमा निवेदन दिएको कारण अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । प्रजिअ पाठकले भने- कागजात समेत नक्कली पेश गरेको कारण अहिले प्रशासनले शिलबन्दी गरेको छ। उक्त फर्माले बिरामीहरू जाच गर्दा बिरामीलाई दिने कागजातमा डा.शिक्षा अर्याल भनेर उल्लेख गरी दिने गरेको थियो। तर डा.शिक्षा अर्याल भन्ने व्यक्ति नै त्यहाँ नभएको पाइएको छ।
फर्माका सञ्चालकले आयुर्वेदिक विभागबाट लिएको भनेको पार्वती अर्याल बोहोरा उल्लेख भएको भएपनि उक्त प्रमाणपत्र आयुर्वेदिक विभागबाट जारी नगरिएको भेटिएको छ। शैक्षिक प्रमाणपत्र पनि नक्कली समेत नक्कली भएको प्रमाण भेटिएको छ। जसको कराण प्रशासनले शिलबन्दी गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।