बर्दिया । बर्दियाको सदरमुकाम गुलरियामा भारतीय प्रहरीले नेपालीको घरमा पसेर छापा मारेको छ । भारतको लखिनपुर खिरीका डिएसपीसहित १४ जनाको संख्यामा रहेका भारतीय प्रहरीको टोलीले गुलरियाका मञ्जुलकुमार श्रेष्ठको घरमा छापा मारेको हो ।
भारतीय प्रहरीको हत्या गरी फरार रहेका मोना सरदार मञ्जुलकुमार श्रेष्ठको घरमा लुकेको आशंकामा भारतीय प्रहरीले आज बिहान छापा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
छापा मार्न भारतीय प्रहरीका डिएसपी उदयप्रताप सिंहको नेतृत्वमा १४ जनाको टोली नेपाल आएको थियो । उनीहरुले नेपाली भूमिमा आएर नेपाली नागरिककै घरमा छापा मार्दा नेपाल प्रहरीको अनुमति समेत लिएको थिएन । उनीहरु भारतीय गाडीमै गुलरिया आएका थिए ।
अपराध गरी एकअर्का देशमा लुकेका अपराधी खोज्नका लागि प्रहरी प्रशासनबीच समन्वय भएपनि अर्काका भूमिमा प्रवेश गरी कुनै पनि देशका सुरक्षाकर्मीले छापा मार्न नपाउने अन्तर्राष्ट्रिय कानून रहेको छ ।
भारतीय प्रहरीले भने अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लंघन गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी मानवहादुर विकले बताए ।
RSS, IMAGECHANNEL