काठमाडौं । सरकारले मंसिर ४ गतेको निर्वाचनमा सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने विषयमा राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराएको छ ।
आज मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले राष्ट्रपति यादवलाई भेटेर हिजो बसेको राष्ट्रिय सुरक्षा परिषद्ले सेना परिचालनबारे निर्णय गरेको जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।
अन्तरिम संविधानमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिको सल्लाह र सम्मतिमा नेपाली सेनाको परिचालन व्यवस्थापन र नियन्त्रण गरिने उल्लेख छ ।
सोही बमोजिम सुरक्षा परिषदले गरेको निर्णय सरकारले राष्ट्रपतिसमक्ष जानकारी गराएको हो । अघिल्लो संविधानसभाको चुनावमा शान्तिप्रक्रिया जारी रहेकाले राष्ट्रिय सेना र माओवादी सेना विस्तृत शान्ति सम्झौता अनुरुप व्यारेकमा सिमित गरिएका थिए ।
उच्चस्तरीय राजनीतिक समिति र वैद्य माओवादीबीचको वार्ता विफल भएपछि सरकारले चुनावमा सेना परिचालन गर्ने निर्णय गरेको हो ।
अब मन्त्रिपरिषद बैठक बसी सेना परिचालनसम्बन्धमा औपचारिक निर्णय गरिनेछ ।
RSS, IMAGECHANNEL