काठमाडौं । सरकार र दलहरुको आग्रहपछि निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति एक साता पर पारेको छ । आयोगको आज बसेको बैठकले मंसिर ४ गतेको संविधानसभा निर्वाचनको मतदानमा असर नपर्ने गरी उम्मेदवारी दर्ताको मिति एक साता पर सारेको हो ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले चुनावको तिथिमा प्रभाव नपर्ने गरी प्रत्यक्षको मनोनयन दर्ता र समानुपातिकतर्फको बन्दसूची पेश गर्ने पूर्व निर्धारित दिनलाई पर सार्न आयोगलाई आग्रह गरेको थियो ।
निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचि पेश गर्न यही आश्विन ७ गते र प्रत्यक्षतर्फको मनोनयनका लागि ९ र १० गतेको दिन तोकेको थियो ।
संविधानसभा निर्वाचन बहिष्कार अभियानमा लागेका माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले प्रत्यक्षतर्फकोे उम्मेदवारी दर्ता दिनलाई प्रभावित गर्नेगरी आश्विन ९ र १० गते नेपाल बन्दको आह्वान गरेका छन् । RSS