चितवन । चितवनका व्यवसायीहरुले राजश्व अनुसन्धान विभाग विरुद्ध आज जिल्लाका सम्पूर्ण व्यवसाय बन्द गराएका छन् ।
नारायणगढको लक्ष्मीनारायण बस्त्रालयलाई राजश्व अनुसन्धान विभागले करिब साढे चार करोड रुपैयाँ कर तोकी भुक्तानीका लागि ताकेता गरेपछि चितवनका व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।
राजश्व छली गरेको आरोप लागेका बस्त्रालयका सञ्चालक लक्ष्मीनारायण श्रेष्ठलाई राजश्व अनुसन्धान विभागले चार करोड ५८ लाख आठ सय २३ रुपैयाँ कर तोकी पत्र पठाएको थियो । तर, चितवनका व्यवसायीहरुले भने व्यक्तिगत प्रतिशोधको आधारमा श्रेष्ठलाई फसाउन खोजिएको आरोप लगाएका छन् ।
बैंकिङ कर्जा प्रयोजनका लागि बैंकमा पेश गरिएका कागजातलाई प्रमुख प्रमाण बनाई कर निर्धारण प्रक्रिया अगाडि बढाइएको र वास्तविक खरिद बिक्रीको कुनै प्रमाण नहेरी कर, शुल्क तथा जरिवाना लगाउन खोजिएको आरोप उद्योग वाणिज्य संघको छ ।
राजश्व विभागले केही समयअघि राजश्व ठगीको आशकामा बस्त्रालयमा छापा मार्ने क्रममा व्यवसायीहरुले विभागको गाडी जलाउनुका साथै कर्मचारीलाई समेत लखेटेका थिए ।
RSS, IMAGECHANNEL