श्रीलंका । श्रीलंकाको उत्तरी क्षेत्रमा गरिएको निर्वाचनमा तमिल पार्टीले जितेको छ । दशकौं लामो जातीय युद्ध समाप्तिपछि उत्तरी टापुलाई अर्ध-स्वायत्तता दिनेसम्बन्धमा गरिएको निर्वाचनमा लंकाको मूख्य तमिल पार्टीले निर्वाचन जितेको हो । उत्तरी प्रान्तीय परिषदका लागि गएको शनिवार गरिएको ३८ सदस्यीय परिषदमा तमिल नेशनल एलायन्सले ३० सीट जितेको हो ।
राष्ट्रपति महिन्दा राजापाक्षेको गठबन्धनले भने सात सीटमा चित्त बुझाउनु परेको छ । अर्को एक सीट भने मुस्लिम कंग्रेसले जितेको छ । विद्रोही तमिल टाइगर्सलाई सेनाले हराएको चार वर्षपछि यो निर्वाचन गरिएको हो । तमिल बाहुल्य उक्त क्षेत्रमा तमिल नेशनल एलायन्सले अब पहिलो पटक प्रान्तीय सरकार बनाउने छ । यो निर्वाचनमा तमिललाई प्राप्त भएको सफलतालाई निकै महत्वकासाथ हेरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
तमिल भाषीको अलग्गै राज्य निर्माणका लागि भनेर तमिल विद्रोहीहरुले २६ वर्ष सिंहाली सेनासँग लडेका थिए । तर गएको चार वर्षअगाडि सेनाले लिबेरेशन टाइगर्स अफ तमिल इलम, लिट्टेका नेता भेलुपिल्लाई प्रभाकरणलाई मारेसँगै यो युद्ध समाप्त भएको थियो । करिब एक लाख नागरिक मारिएको उक्त युद्ध सन् २००९ मा सकिएपनि युद्धमा राज्यले मानवअधिकारको चरम उल्लंघन गरेको आरोप अन्तर्राष्ट्रिय मानवअधिकारवादीहरुले लगाइरहेका छन् ।
Agencies