काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनावमा सेना परिचालन गरिए त्यही दिनदेखि अर्को जनयुद्ध सुरु गर्ने चेतावनी दिएको छ । मंसिर ४ गतेको चुनावको सक्रिय बहिष्कार गर्ने चेतावनी दिँदै मोर्चाले जर्बजस्ती चुनाव गरिए फेरि जनयुद्धमा जाने चेतावनी दिएको हो ।
चुनाव वहिष्कार अभियान अन्र्तगत आज राजधानीको खुलामञ्चमा विरोधसभा गरी मोर्चाका नेताहरुले सरकार र ठूला भनिएका राजनीतिक दलहरु नियोजित रुपमै मुलुकमा द्धन्द्ध निम्त्याउन उद्दत रहेको आरोप लगाए ।
सभामा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले कुनै पनि हालतमा मंसिर ४ गतेको चुनाव सफल हुन नदिने बताए ।
वैद्यले चार दल र सरकार विदेशी शक्तिहरुको इशारामा चल्न थालेकाले मुलुक संकटतिर फस्दै गएको दाबी समेत गरे ।
राष्ट्रपतिबाट आफूहरुले निकासको अपेक्षा गरेपनि स्वयं राष्ट्रपति पनि विदेशीको प्रभावमा पर्न थालेको वैद्यको भनाई थियो ।