काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लागि उडेको एयर डायनेष्टीको हेलिकप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणको क्रममा आज बिहान दुर्घटना भएको छ । अवतरण गर्ने क्रममा धावन मार्ग नजिकै रहेको तार जालीमा ठोक्किँदा हेलिकप्टर दुर्घटना भएको लुक्ला विमानस्थलले जनाएको छ । हेलिकप्टर करीव २० मिटरमाथिबाट तल जमिनमा खसेको थियो ।
हेलिकप्टरको पछिल्लो भागमा आगो लाग्दा पूर्ण रुपमा क्षति भएको छ । हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित अरु तीन जना यात्रु सवार थिए । हेलिकप्टरमा रहेका सबै सकुशल रहेपनि एक जनाको अवस्था भने चिन्ताजनक छ ।
होटल प्याराडाइजका सञ्चालक सोलुखुम्बु चौरी खर्कका दागेलु शेर्पालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । अरु तीन जनाको स्थानीय अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्घटना बिहान साढे आठ बजे भएको हो । IMAGECHANNEL