सिरियाको रासायनिक हतियार नष्ट गर्ने बारेमा सुरक्षा परिषदमा छलफल

न्यूर्योक  । सिरियाको रासायनिक हतियार नष्ट गर्ने बारेमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा आज छलफल हुँदैछ । केही दिन अघि रुस र अमेरिकाबीच सिरियाको रासायनिक हतियार नष्ट गर्ने बारेमा सहमति भएपछि सुरक्षा परिषदको बैठक बस्न लागेको हो । 
१५ सदस्यीय सुरक्षा परिषद बैठकले रुस र अमेरिकाबीच सहमति भएका बुँदामा आधारित रहेर सिरियाका रासायनिक हतियार नष्ट गर्ने कार्ययोजना बनाउने बीबीसीले जनाएको छ । 
यसअघि सुरक्षा परिषदमा अमेरिकाले राखेको सिरियामा सैनिक कारबाही गर्ने प्रस्तावलाई रुसले भिटो प्रयोग गरी निस्पैभावी बनाउँदै आएको थियो । रुस र अमेरिकाबीचको सहमतिपछि सिरियाले आफूसँग भएका रासायनिक हतियारको सूची राष्ट्रसंघीय निकायलाई बुझाइसकेको छ । 
सिरियासँग १ हजार टन रायायिनक हतियार रहेको अनुमान गरिएको छ । सन् २०१४ को मध्यसम्ममा ती रासायनिक हतियारहरु नष्ट गरिसक्ने कुरामा रुस र अमेरिकाबीच सहमति भएको छ । 
सिरियाको दमास्कस आसपास भएका रासायनिक हतियार आक्रमणमा झण्डै १ हजार ५ सय जनाले ज्यान गुमाएपछि अमेरिकाले त्यसको दोष सिरिया सरकारमाथि लगाउँदै सैनिक हस्तक्षेपको चेतावनी दिएको थियो । AGENCIES