अब्दुल्लाह मियाँ, ईकान्तिपुर
काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राष्ट्र प्रमुखमा संवैधानिक राजसंस्था र कार्यकारी प्रमुखमा जनताबाट निर्वाचित प्रधानमन्त्री हुने साशकीय स्वरुपको घोषणा पत्र लिएर आगामी संविधानसभा निर्वाचनमा जनताबीच जाने भएको छ ।
राप्रपा नेपालले शुक्रबार आफ्नो चुनावी घोषणा पत्र र प्रत्यक्ष तर्फ उम्मेदवार हुनेहरुको नामावली सार्वजनिक गरेको छ । ‘नेपाल बन्द नगर्ने’ राप्रपाको चुनावी नारा छ । जनता लोभ्याउन राप्रपाले ५ वर्ष भित्र लोडसेडिङको पूर्ण अन्त्य तथा अच्च स्तरीय सम्पत्ती छानीवन आयोग गठन गरी अवैधानिक सम्पत्ति जफतको प्रावधान घोषणा पत्रमा उल्लेख गरेको छ ।
उसले २ सय ७ सदस्यीय जनप्रतिनिधी सभा र ६० सदस्यीय राष्ट्रिय सभा रहने गरी दुई सदनात्मक व्यवस्थाको प्रस्ताव गरेको छ । हिन्दु राष्ट्र नारा दिदै राप्रपाले भनेको छ ‘ सर्व धर्म सह अस्तित्व धार्मिक समानता एवं पूर्ण धार्मिक स्वतन्त्रताका सहितको सनातन हिन्दु राष्ट्र नेपाल हुनेछ ।’
राजय पुर्नसंचरनाको विषयमा राप्रपाले स्थानीय स्वायत्त शासनको नयाँ मोडेल ल्याउने भनेको छ । उसले अबको गन्तव्य आर्थिक क्रान्ति एवं सबल र समृद्ध नेपालको निर्माणको नारा दिएको छ । पार्टीका तर्फबाट आगामी प्रधानमन्त्रीमा अध्यक्ष कमल थापालाई प्रस्ताव गरिएको छ ।
राप्रपाले अन्य दलहरुलाई उछिन्दै १ सय ९६ निर्वाचन क्षेत्रमा पार्टीबाट चुनाव लड्नेहरुको नामावली समेत सार्वजनिक गरेको छ । सह अध्यक्ष पदमसुन्दर लावत्ती पाचथर-२, उपाध्यक्ष राजीव पराजुली उपाध्यक्ष पर्सा-२, डा.धवल शमशेर राणा बाँके-३, चन्द्रबहादुर गुरुङ महामन्त्री स्याङजा-१, भरत जंगम काठमाडौं-१ सहायक महामन्त्री बाबुकाजी प्रधान ललितपुर ३, बृजलाल यादव बारा-४, मनोज मल्ल धनुषा-६, मिनबहादुर सिंह-७, पूर्व मेयर ध्रुव महर्जन काठमाडौं-१०, चलचित्रकर्मी उद्धप पौडेल काठमाडौं-४ र मिना राणा काठमाडौं- ३ बाट चुनाव लड्ने छन् ।
अध्यक्ष थापाको क्षेत्र अहिले घोषणा गरिएको छैन । २ सय ४० वटै निर्वाचन क्षेत्रमा चुनाव लड्ने र बाँकी उम्मेदवारको घोषणा १/२ दिनमै गरिने राप्रपाले जनाएको छ ।