अब्दुल्लाह मियाँ, ईकान्तिपुर
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले कहिल्यै नेपाल बन्द नगर्ने विषयलाई प्रमुख मुद्दा बनाउँदै घोषणापत्रको खाका सार्वजनिक गरेको छ ।
राजधानीमा पत्रकार सम्मेलन गरि उसले अध्यक्ष कमल थापालाई भावी प्रधानमन्त्रीकोरुपमा प्रस्ताव गरेको छ । राप्रपा नेपालले १९६ क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार तय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
राष्ट्र प्रमुखमा संवैधानिक राजसंस्था र कार्यकारी प्रमुखमा जनताबाट निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपको घोषणा पत्र लिएर आगामी संविधानसभा निर्वाचनमा जाने राप्रपा नेपालको तयारी छ ।
राप्रपा नेपालले २ सय ७ सदस्यीय जनप्रतिनिधिसभा र ६० सदस्यीय राष्ट्रिय सभा रहने गरी दुई सदनात्मक व्यवस्थाको प्रस्ताव गरेको छ । घोषणा पत्रमा ५ वर्ष भित्र लोडसेडिङको पूर्ण अन्त्य तथा हिन्दु राष्ट्र नारा दिएको छ । राप्रपाले भनेको छ, ‘ सर्वधर्म, सहअस्तित्व, धार्मिक समानता एवं पूर्ण धार्मिक स्वतन्त्रताकासहितको सनातन हिन्दु राष्ट्र नेपाल हुने छ ।’
जनता लोभ्याउन राप्रपाले भ्रष्टचारविरोधी नारा दिंदै उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी अवैधानिक सम्पत्ति जफतको प्रावधान घोषणा पत्रमा उल्लेख गरेको छ ।
राज्उ पुनर्संरचनाको विषयमा राप्रपाले स्थानीय स्वायत्त शासनको नयाँ मोडेल ल्याउने भनेको छ । उसले अबको गन्तव्य आर्थिक क्रान्ति एवं सबल र समृद्ध नेपालको निर्माणको नारा दिएको छ ।
राप्रपाले अन्य दलहरुलाई उछिन्दै १ सय ९६ निर्वाच्ान क्षेत्रमा पार्टीबाट चुनाव लड्नेहरुको नामावली समेत सार्वजनिक गरेको छ । सह अध्यक्ष पदमसुन्दर लावती पाँचथर-२, उपाध्यक्ष राजीव पराजुली उपाध्यक्ष पर्सा-२, डा. धवल शमशेर राणा बाँके-३, महामन्त्री चन्द्रबहादुर गुरुङ स्याङजा-१, भरत जंगम काठमाडौं-१ सहायक महामन्त्री बाबुकाजी प्रधान ललितपुर ३, बृजलाल यादव बारा-४, मनोज मल्ल धनुषा-६, मिनबहादुर सिंह धनुषा- ७, पूर्वमेयर ध्रुव महर्जन काठमाडौं-१०, चलचित्रकर्मी उद्धव पौडेल काठमाडौं-४ र गायिका मिरा राणा काठमाडौं- ३ बाट चुनाव लड्ने छन् । गायक सञ्जय श्रेष्ठ काठमाडौं- ६ बाट उठ्नेछन् ।
अध्यक्ष थापाले भने प्रत्यक्षमा उम्मेदवारी घोषणा गरेका छैनन् । २ सय ४० वटै निर्वाचन क्षेत्रमा चुनाव लड्ने र बाँकी उम्मेदवारको घोषणा १/२ दिनमै गरिने राप्रपा नेपालले जनाएको छ ।