संविधानसभा चुनावमा विदेशमा बस्ने नेपाली नागरिकलाई पनि सहभागी गराउनुपर्ने भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले सरकारका नाममा आइतबार कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश तर्कराज भट्टको एकल इजलासले जारी गरेको आदेशमा विदेशमा बस्ने नेपालीलाई मत खसाल्न नदिनुको कारण पेस गर्न सरकारलाई भनिएको छ ।
अमेरिकाको भर्जिनिया राज्यको फेयर फ्याक्समा १९९८ देखि बसोबास गर्दै आएका श्यामध्वज कार्कीले गत साता आफूजस्तै विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउनुपर्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।
५६ लाखभन्दा बढी नेपाली विदेशमा बसोबास गर्दै आएकाले तिनलाई संविधान निर्माण प्रक्रियाको पहिलो बिन्दु चुनावमै सहभागी हुनबाट रोक्नु असंवैधानिक भएको उनको तर्क छ ।