नयाँ दिल्ली – बिहारका पूर्व मुख्यमन्त्री लालूप्रसाद यादवलाई चारा घोटालामा दोषि ठहर गर्दै सीबीआई अदालतले जेल चलान गरेको छ । उनलाई राँचीको बिरसा मुन्डाको जेल पठाइएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार लालूसहित ४४ जनालाई अभियुक्तलाई पनि अदालतले दोषि ठहर गरेको छ ।
सीबीआईका बरिष्ठ अभियोजक बीएमपी सिंहका अनुसार लालू र अर्का अभियुक्त जगन्नाथ मिश्रलाई बढिमा सात वर्ष जेल सजाय हुन सक्नेछ ।
लालूलाई जेल हाल्ने फैसलाको भारतीय जनता पार्टी (बीजेपी)का प्रवक्ता राजीव प्रताप रुडीले ढिलो तर सहि फैसला आएको प्रतिक्रिया दिएका छन् ।
जनता दल यूनाइटेडका नेता साबिर अलीले अदालतको फैसलाले न्यायपालिकाप्रति आस्था बढेको बताउँदै नेतालाई सजाय हुँदैन भन्ने मान्यता गलत सावित भएको बताएका छन् ।
राँचीको सीबीआई अदालतले १७ सेप्टेम्बरमा भएको फैसलालाई निरन्तरता दिएको हो ।
चाइबासा ट्रेजरीबाट अवैद्यरुपमा ३७.७० करोड रुपैयाँ निकालेको अभियोजमा उनीसहित ४४ जनाविरुद्ध १७ वर्षअघि मुद्दा दायर भएको थियो । Agencies