एमाओवादीद्धारा प्रमुख नेतासहित २७ जिल्लाका ४२ निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा

काठमाडौ – एमाओवादीले प्रमुख नेतासहित २७ जिल्लाका ४२ निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । पहिलो चरणमा अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय बाबुराम भट्टराई र पोस्टबहादुर बोगटीसहित हिमाली, पहाडी क्षेत्रमा उम्मेदवार घोषणा गरेको हो ।
दाहाल निवास लाजिम्पाटमा आइतबार बसेको ‘हेडक्वाटर’ को बैठकले पहिलो चरणका उम्मेदवारको सूचीलाई अन्तिम रूप दिएको हो । दाहाल काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवार बन्ने भएका छन् । उनी गएको संविधानसभामा काठमाडौं १० र रोल्पा २ बाट विजयी भएका थिए ।
नेता भट्टराई गोरखा २ छाडी १ र रूपन्देही ४ बाट उम्मेदवार बनेका छन् । नेता बोगटी पुरानै नुवाकोट ३ बाट उठ्ने भएका छन् । उनको पश्चिम तराईबाट उम्मेदवारी दिने चर्चा थियो ।
पार्टीभित्रको असन्तुष्टिका कारण नेता नारायणकाजी श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छैनन् । मकवानपुर २ बाट उम्मेदवारी दिने उनको मनस्थिति छ ।
एमाओवादीले दोस्रो र तेस्रो चरणमा अन्य क्षेत्रको उम्मेदवार घोषणा गर्ने प्रवक्ता अग्नि सापकोटाले जनाए । ‘अबको दुई दिनभित्र सबै उम्मेदवार घोषणा हुन्छ,’ उनले भने ।
आइतबार घोषणा भएकामध्ये आठ पूर्वसभासद हुन् । उनीहरूमा दाहाल, भट्टराई, बोगटी, रेणु चन्द, लेखराज भट्ट, नरबहादुर बिष्ट, भक्तबहादुर शाह, सत्य पहाडी, सुदन राई, दुर्गाजयन्ती राई र सञ्चपाल मादेन छन् ।
सुदूरपश्चिमका नेता लेखराज भट्ट यसपटक कैलालीबाट डोटी २ मा उक्लेका छन् । पूर्वलडाकु डिभिजन कमान्डर महेन्द्रबहादुर शाही पनि उम्मेदवार बनेका छन् । ४२ जनामध्ये तीन महिला छन् ।
श्रीमान्-श्रीमती उम्मेदवार
शक्तिबहादुर बस्नेत जाजरकोट १ बाट र उनकी श्रीमती सत्य पहाडी डोल्पाबाट उम्मेदवार बनेका छन् । पहाडी यसअघि समानुपातिकबाट सभासद थिइन् । अध्यक्ष दाहाल प्रधानमन्त्री भएका बेला बस्नेत उनका प्रमुख स्वकीय सचिव थिए । श्रीमान्-श्रीमती दुवै विगतमा मन्त्री भइसकेका छन् ।
एमाओवादीद्वारा ४२ तय
अछाम    १- दीपक साउद    २- झंकर रावल
बैतडी     १- नरेन्द्र कुँवर    २- रेणु चन्द
बझाङ    १- देवराज रेग्मी     २- हरि कुँवर
दार्चुला-    ललित सिंह ठगुन्ना
डडेलधुरा-    खगराज भट्ट
बाजुरा-    सहदेव बोगटी
डोटी     १- मोहन बम
सुर्खेत    १- ठम्मर बिष्ट  २- भीमबहादुर मल्ल
    ३- नरबहादुर बिष्ट
दैलेख     १- तेजबहादुर चन्द
    २- थिरबहादुर कार्की
जाजरकोट    १- शक्तिबहादुर बस्नेत
    २- भक्तबहादुर शाह
डोल्पा    – सत्य पहाडी
जुम्ला    – गजेन्द्रबहादुर महत
कालीकोट    – महेन्द्रबहादुर शाही
मुगु    – सुकवीर बुढा
हुम्ला    – छिरिङ डम्दुल लामा
मनाङ    – कपिल लामा
संखुवासभा     १- इन्द्र हाङ राई   २- राजेन्द्र किराँती
भोजपुर     १- खेमराज नेपाली    २- सुदन राई
खोटाङ    १- दुर्गाजयन्ती राई    २- देवान राई
सोलुखुम्बु-    गोम्बु शेर्पा
ताप्लेजुङ     १- सञ्चपाल मादेन
    २- टंक आङबुहाङ
तेह्रथुम-    दुर्गाप्रसाद चापागाईं
EKANTIPUR