गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित अदालत नपुग्दै छुटे

विनोद त्रिपाठी, ईकान्तिपुर
चितवन  – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित रामप्रसाद अधिकारी २५ दिनपछि सोमबार राति छुट्ने भएका छन् ।
सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै जिल्ला अदालतमा अभियोगपत्र दर्ता नगरी प्रहरीलाई नै फाइल फिर्ता गरेपछि रामप्रसाद हाजिरी जमानीमा छुट्ने भएका हुन् । जिल्ला प्रहरी कार्यालयलाई न्यायाधीवक्ताको कार्यालयबाट उनलाई हिरासतबाट मुक्त गर्न निर्देशन भएको छ । प्रहरी स्रोतका अनुसार उनी जमानीमा सोमबार राति नै छुट्ने छन् । उजुरीका आधारमा रामप्रसादलाई प्रहरीले काठमाडौँबाट भदौ २१ गते पक्राउ गरि चितवन ल्याएको थियो ।
०६१ जेठ २४ गते हत्या गरिएका कृष्णप्रसादका बुवा नन्दप्रसाद र आमा गंगामाया आरोपित ११ जनालाई कारबाहीको माग गर्दे ४७ दिन अनशनमा बसेका थिए । सोमबार कि थुनामा राखेर मुद्दा चलाउनुपर्ने कि जमानीमा छोड्नुपर्ने अन्तिम दिन भएकोले प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयबाट अभियोगपत्र अदालतमा पेश गरेन ।