काठमाडौं । नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका बिक्री सुरु गरेको छ । संस्थानले बुधबारदेखि खसीबोका बिक्री सुरु गरेको हो । मूल्यबृद्धिको प्रभाव संस्थानले बिक्री गरेको खसी बोकाको मूल्यमा पनि परेको छ ।
संस्थानले चार तौल समूहको आधारमा खसी बोकाको मूल्य निर्धारण गरेको छ । २० किलोग्रामसम्मको खसी बोकाको भाउ प्रति किलोग्राम ३ सय ७०, २० देखि २४ सम्मको ३ सय ८५, २४ देखि ३० किलोग्राम सम्मको ३ सय ९० र ३० किलोग्राम भन्दा माथिको प्रतिकिलो ३ सय ९५ रुपैयाँ तोकिएको संस्थानका अञ्चल प्रमुख श्यामभक्त वैद्यले हामीलाई जानकारी दिए ।
संस्थानले बिक्री गरेको खसीबोकाको भाउ गत वर्षको तुलनामा केहि महंगो हो । गत वर्ष प्रति किलोग्राम ३ सय ४ र ३ सय १४ रुपैयाँ थियो । संस्थानले नेपालगञ्ज, सुर्खेत र लाहानबाट खसीबोका राजधानी भित्र्याएको हो ।
बजारमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न भन्दै प्रत्येक वर्ष खसीबोका बिक्री गर्दै आएको संस्थानले यस वर्ष तीन हजार ४ सय खसी बोका विक्री गर्ने लक्ष्य राखेको छ ।
संस्थानले गत वर्ष १ हजार ७ सय खसि बोका बिक्री गरेको थियो । उपभोक्ताले यस वर्ष संस्थानको भाउ केहि महंगो भएको प्रतिक्रिया दिएका छन् ।
संस्थानले गत वर्षहरुका तुलनामा यस वर्ष चाँडो खसीबोका बिक्री सुरु गरेको हो । RSS, IMAGECHANNEL