आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता सम्पन्न

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता सम्पन्न भएको छ ।

 

बिहान १० बजेदेखि देशका ७५ वटै जिल्ला सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दाखिला सुरु गरिएकोमा उम्मेदवारी दर्ता साँझसम्मै चलेको थियो ।

चुनावको विरोधमा रहेका नेकपा-माओवादी लगायतका दलहरुबाट मनोनयनमा अवरोध आउन सक्ने आशंका गरिएको भएपनि मनोनयन दर्ता देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।


मनोनयन दर्ताका क्रममा सबैतिर उल्लासमय वातावरण देखिएको थियो । २ सय ४० निर्वाचन क्षेत्रका लागि आज दर्ता गरिएका उम्मेदवारहरुको सूची निर्वाचन आयोगले भोलि १८ गते प्रकाशित गर्नेछ ।


निर्वाचन कार्यक्रम अनुसार आश्विन १९ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने दिन तोकिएको छ । त्यस्तै २० गते उम्मेदवारीमाथि परेको उजुरीको जाँचबुझ गरिने छ भने २१ गते उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।


त्यसैगरी आश्विन २२ गते उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ भने २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।


त्यस्तै दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची भोलि निर्वाचन आयोगमा पेश गर्नु पर्नेछ ।


प्रत्यक्षतर्फ उम्मेदवार भएको व्यक्ति समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार बन्न पाउँदैनन् ।

 

– स्रोत: नेपाली संचारमाध्यम