भारतमा विहारका पूर्व मूख्यमन्त्री लालु प्रसाद यादवलाई पाँच वर्षको जेल सजाय

नयाँदिल्ली । भारतमा चर्चित पशुपंक्षीको दाना खरिद घोटाला काण्डमा दोषी ठहर गरिएका विहारका पूर्व मूख्यमन्त्री लालु प्रसाद यादवलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

 

झारखण्ड राज्यको राँचीस्थित विशेष अदालतले आज लालु विरुद्धको फैसला सुनाउँदै ५ वर्षको जेल सजाय र २५ लाख भारु जरिवान असुल्न आदेश दिएको छ ।

राष्ट्रिय जनता दलका प्रमुख लालुको सांसद पद पनि खारेज हुने भएको छ । गत सोमबार विशेष अदालतले ६६ वर्षीय लालुसँगै अन्य ४० जनालाई पनि उक्त काण्डमा दोषी ठहर गरेको थियो ।


उक्त घोटालामा दोषी ठहर भएका पूर्व मूख्यमन्त्री जगन्नाथ मिश्रलाई चार वर्षको जेल सजाय र दुई लाख जरिवाना तिराउन अदालतले आदेश दिएको छ ।


१७ वर्ष अघि विहारको मूख्यमन्त्री रहेका बेला लालुले ३७ करोड भारु भन्दा बढीको भ्रष्टाचार गरेको अभियोग लागेको थियो । पटना उच्च न्यायालयले सन् १९९६ को मार्चमा ९ अर्ब ५० करोड रुपयाको दाना खरिदमा घोटाला भएको सम्बन्धी मुद्दाको अनुसन्धान गर्न सीबीआईलाई जिम्मा दिएको थियो ।


भ्रष्टाचारको आरोप लागेपछि लालुले त्यतिबेला पदबाट राजीनामा दिएर पत्नी रावडी देवीलाई विहारको मूख्यमन्त्री बनाएका थिए । Agencies