पत्रकारलाई तलब नदिने मालिक गिरफ्तार

दशैको मुखमा पत्रकारलाई नक्कली चेक दिएर ठग्ने सौर्य दैनिकका दुई मालिकलाई प्रहरीले गिरफतार गरेका छन। सृजना इन्टरनेशनल मिडिया प्रालिको नामले सौर्य दैनिकको प्रकाशक गर्दै आएका संस्थाका दुइ पदाधिकारी कोषाध्यक्ष शिव ढकाल र सदस्य रमेश न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको हो।
सौर्य दैनिकले करीब ९ महिनादेखि कार्यरत पत्रकारहरुलाई तलब नदिएको र दिए पनि चेक बाउन्स भएको पत्रकारहरुले गुनासो गरेका छन। यसअघि सौर्य दैनिक सौर्य सञ्चार सहकारी संस्थाले प्रकाशन गर्दै आएपनि पछिल्लो पटक सहकारीबाट कम्पनीको रुपमा दर्ता भइ सृजना इन्टरनेशनल प्रालिबाट प्रकाशन हुँदै आएको छ।
सौर्य दैनिकमा कार्यरत पत्रकार खगेन्द्र पन्तको ३ लाख ५० हजार, रामहरि पाण्डे २ लाख १० हजार रुपैयाँ, रामशरण बजगाइँको १ लाख ५० हजार लगायतका ६० जनाको मासिक तलब पत्रिकाले नदिएको नाम नबताउने सर्तमा एक पत्रकारले जानकारी दिएका छन।
असोज १६ गतेसम्म पैसा दिने लिखित प्रतिवद्धता गरेका प्रकाशक एवं सम्पादक बोधराज त्रिपाठीले पैसा नभएको चेक दिएको, उल्टै पत्रकारविरुद्ध नै मुद्दा हाल्ने र हातखुट्टा भाँचिदिने धम्की दिएकोले प्रहरीमा आफूहरुले उजुरी गरेको पिडित पत्रकारहरुले बताएका छन।