अर्जुन सुवेदी, नागरिकन्युज
काठमाडौं – निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पाँच जनाको उम्मेदवारी रद्द गरेको छ। आयोगमा परेको उजुरी छानबिनपछि पाँच जनाको उम्मेदवारी आइतबार रद्द भएको हो। आयोगमा शनिबार उम्मेदवारविरुद्ध नौवटा उजुरी परेका थिए। आयोगका प्रवक्ता वीरवहादुर राईका अनुसार तीनवटा उजुरी बदर भएका छन् भने उम्मेदवारी दर्तामा त्रुटि देखिएपछि एकजना उम्मेदवार आफैंले मनोनयनपत्र फिर्ता लिएका छन्।
भोजपुर १ का स्वतन्त्र उम्मेदवार पासाङ दोर्जे शेर्पाले हस्ताक्षर नगरी मनोनयनपत्र दर्ता गर्न प्रतिनिधि पठाएकाले आफंैले फिर्ता लिएका हुन्।
नुवाकोट क्षेत्र नम्बर २ बाट नेकपा एमालेको आधिकारिक उम्मेदवार दाबी गर्दै मनोनयनपत्र दर्ता गराएका बद्री मैनालीको उम्मेदवारी खारेज भएको छ। प्रवक्ता राईका अनुसार मैनालीले अर्कैको मनोनयनपत्रमा टिपेक्स लगाई आफ्नो नाम लेखेर गत बिहीबार मनोनयन दर्ता गरेका थिए। एमालेले उक्त क्षेत्रमा शान्ता थापा अधिकारीलाई आधिकारिक उम्मेदवार बनाएको थियो।
मैनालीले निर्वाचन अधिकृतको कार्यालयमा पार्टीको आधिकारिक पत्र बुझाउन नसकेपछि स्वतन्त्र उम्मेदवार कायम गरिपाऊँ भनेर निवेदन दिएका थिए। तर मनोनयनपत्रमा टिपेक्स लगाएको भन्दै आयोगले उनको मनोनयनपत्रनै खारेज गरिदिएको छ।
पर्सा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार आलोककुमार चौरसियाको उमेर नपुगेकाले उम्मेदवारी रद्द भएको छ। सोही क्षेत्रकै सद्भावना पार्टीका उम्मेदवार सत्यनारायण प्रसादको पार्टीको आधिकारिक पत्र नभएकाले उम्मेदवारी रद्द भएको आयोगले जनाएको छ। त्यसैगरी, धादिङ क्षेत्र नम्बर २ का चुरेभावर एकता पार्टीका उम्मेदवार सुदन खाँड ठकुरीको पनि उमेर नपुगेकाले उम्मेदवारी रद्द भएको छ।
कैलाली क्षेत्र नम्बर ४ बाट नेपाल शान्ति क्षेत्र परिषद पार्टीबाट उम्मेदवारी दिएका डिल्लीबहादुर विष्टको भने समर्थकको उमेर नपुगेकाले उम्मेदवारी रद्द भएको आयोगले जनाएको छ।
उम्मेदवारको उजुरी र अन्य कागजातको छानबिन गरी सोमबार उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। यस्तै प्रत्यक्षतर्फ उम्मेदवारी फिर्ता लिने समय मंगलबारलाई तोकिएको छ। आयोगले बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र बिहीबार उम्मेदवारलाई चुनावचिह्न प्रदान गर्ने कार्यतालिका छ।
संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ देशभरका २ सय ४० निर्वाचन क्षेत्रमा ६ हजार ३ सय ५२ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये एक हजार स्वतन्त्र, एक तेस्रोलिंगी, ५ सय ९१ महिला र ५ हजार ७ सय ६१ पुरुष रहेको आयोगले जनाएको छ।
निर्वाचन आयोगले समानुपातिकका लागि १ करोड ४९ लाख मतपत्र छाप्न सुरु गरेको छ। आयोग प्रवक्ता राईले समानुपातिकका लागि हल्का रातो रङको मतपत्र छपाइ १५ देखि १७ दिनभित्र सक्ने बताए। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छापिने उनले जानकारी दिए। उनका अनुसार चुनाव चिह्न भने दल दर्ताक्रमअनुसार राखिएको छ।
प्रत्यक्षतर्फ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि चुनाव चिह्न वितरण गरी मत्रपत्र छाप्ने आयोगले जनाएको छ। ‘प्रत्येक क्षेत्रमा कायम हुने उम्मेदवार संख्याका आधारमा मतपत्रको ढाँचा तयार गरी प्रत्यक्षतर्फको मतपत्र छाप्न थालिन्छ,’ पवक्ता राईले भने। आयोगका अनुसार मुलुकभरमा झन्डै १ करोड २३ लाख मतदाता छन्।