अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले नेटो गठबन्धनका कारण आफ्ना देशका नागरिक प्रताडित बन्नु परेको गुनासो गरेका छन् । बीबीसीसंग अन्तर्वाताका क्रममा कारजाईले ठूलो संख्यामा नेटो गठबन्धन सेना मारिनु र सैन्य अभियानमा अरबौं डलर खर्च हुंदा पनि आफ्नो देश निकै पछाडी पारेको बताए । अफगान राष्ट्रपति कारजाईले नेटो अभियान अफगानिस्तानको पीडाको कारण बनेको दुसेको पोखे ।
अभियानले आमसर्वसाधरण मारिएकाले अफगानिस्तान र अमेरिकी अगुवाईमा अन्तर्राष्ट्रिय सेनामा विभाजन पैदा भएको उल्लेख गरे । उनले नेटोले पाकिस्तानमा तालिवानको सुरक्षित ठेगानामा नभइ अफगास्तिानका गाउंहरुमा आक्रमण गरेर गलत गरेको अरोप लगाए ।
नेटोको अभियानमाथि कडा टिप्पणी गर्दै कारजाईले मुलुकमा नेटोको अभियानले आशिंक सुरक्षा कायम भएपनि आफुहरु पूर्ण सुरक्षित हुन नसकेको बताए । उनले तालिवानसंग आफुले व्यक्तिगत रुपमा कुरा गरिरहेको जानकारी दिंदै उनीहरुसंग सत्ता बांडफांडको लागि सम्झौता पनि गर्न सकिने बताए । राष्ट्रपतिका रुपमा हमिद कारजाईको कार्यकाल आगामी छ महिनामा सकिंदैछ । अफगानिस्तानमा तेनाथ नेटो सेना सन् २०१४ को अन्त्य सम्म स्वदेश फर्कदै छन् । AGENCIES, BBC