प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरु मध्ये देशभरबाट १ सय ७६ जनाले उम्मेदवारी फिर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरु मध्ये देशभरबाट १ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमध्ये पूर्वाञ्चलबाट ३०, मध्यमाञ्चलबाट ८०, पश्चिमाञ्चलबाट २०, मध्यपश्चिमबाट ३० र सुदूरपश्चिमबाट १६ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिएका छन् ।


गत १८ गते २ सय ४० निर्वाचन क्षेत्रबाट ६ हजार ३ सय ४३ जनाले उम्मेदवारी मनोनयन गरेका थिए । मनोनयन दर्ता गराएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।


चितवन क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति सुशील कोइराला विरुद्ध बागी उम्मेदवारी दिएका चितवन कांग्रेसका पूर्व सभापति विकासले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् ।


चितवन क्षेत्र नम्बर ३ र ४ बागी उम्मेदवारी दिएका विकास कोइरालाले क्षेत्र नम्बर ३ बाट भने उम्मेदवारी फिर्ता लिएका छन् ।


उता, कैलाली ६ मा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा बिरुद्ध वागी उम्मेदवारी दिएका पूर्व सभासद गंगाबहादुर कुँवरले भने उम्मेदवारी फिर्ता लिएका छन् ।


यता, तनहुँ २ मा कांग्रेस उपसभापति रामचन्द्र पौडेल बिरुद्ध उम्मेदवारी दिएका तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले उम्मेदवारी कायमै राखेका छन् ।


त्यस्तै धनुषा १ मा एमाले छाडेर एकीकृत माओवादीबाट उम्मेदवारी दिएका रामचन्द्र झा बिरुद्ध एमाओवादी केन्द्रीय सदस्य श्रवण यादवले पनि उम्मेदवारी कायमै राखेका छन् ।


काभ्रे १ मा एकीकृत माओवादीका सूर्यमान दोङ बिरुद्ध बागी उम्मेदवारी दिएका तेजप्रसाद गौतमले पनि उम्मेदवारी फिर्ता लिएनन् । सुर्खेत २ मा एमालेका यामलाल कँडेल बिरुद्ध एमाले जिल्ला उपाध्यक्ष शिवप्रसाद उपाध्यायले दिएको उम्मेदवारी पनि फिर्ता भएन ।


नवलपरासीमा बागी उम्मेदवार दिएर फिर्ता लिन अस्वीकार गरेका ५ जनालाई कांग्रेसले कारबाही गरेको छ । कास्कीमा तीन जना स्वतन्त्र उम्मेद्वारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।


निर्वाचन आयोगले भोलि उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित गर्ने कार्यक्रम रहेको छ । IMAGECHANNEL, RSS