पोखरा । पोखरामा यो बर्ष २० हजारको हाराहारीमा भेडा च्याङ्ग्रा भित्रिएको छ । हिमालपारीको जिल्ला मनाङ र मुस्ताङबाट १० हजार र मुगु, डोल्पा र चीनबाट गरेर १० हजार भेडा च्याङ्ग्रा पोखरा भित्रिएको हो । गतवर्षको तुलनामा भने पोखरामा कम भेडाच्याङग्रा भित्रिएको ब्यापारीहरुले बताएका छन् । भेडा च्याङग्राहरु पोखरा भित्रिए संगै किन्नेहरुको ठूलो भीड लागेको छ ।
लेकमा पाइने जडिबुटी खाएर हुर्केको भेडाच्याङ्ग्रा भएकोले उनीहरुको मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने विश्वासले दशैंमा पोखरामा भेडाच्याङ्ग्राको माग बढी हुने गरेको छ । दशैंको बेलामा मात्रै पोखरा आसपासमा ४० करोड बराबरको आर्थिक कारोबार हुने गरेको छ ।
कास्कीको याम्दीमा भेडा च्याङग्रा विक्रीका लागि राखिएका छन् । यो बर्ष मुस्ताङमा खोरेत रोग लागेको र चीनवाट प्रयाप्त मात्रामा समेत च्याङग्रा नभित्रिएपछि च्याङग्राको संख्या घटेको हो । आवश्यकता भन्दा कम च्याङग्रा आउने र विभिन्नि ठाउँमा महङगो कर तिर्नुपर्नै भएकोले पोखरेलीलाई गतवर्षभन्दा महङगो रकम तिर्नुपर्ने व्यापारीहरुले वताएका छन् ।
पोखरामा भित्रिएका च्याङग्रा पश्चिमाञ्चलका विभिन्न शहर तथा राजधानीसम्म निकासी हुंदै आएको छ । अघिल्लो बर्षको दशैंमा भन्दा १० हजार कम भेडाच्याङ्ग्रा पोखरा भित्रिएको हो ।
यता दशैंमा खसीबोकाको माग बढे पछि कपिलवस्तु जिल्लाबाट दैनिक दुई करोड बराबरको खसीबोका राजधानी भित्रिरहेका छन् । भारतीय व्यापारीहरुले भारतका बिभिन्न स्थानमा खसीबोका जम्मा गरेर राजधानी भित्राईरहेका हुन् ।
अहिले कपिलवस्तुबाट दैनिक १० ट्रकसम्म खसीबोका काठमाडौं आईरहेका छन् । एक ट्रकमा दुई सय ८० देखि ३ सयसम्म खसीबोका लोड हुने गरेको छ । एक ट्रक खसीबोकाको मुल्य १८ देखि २० लाखसम्म हुने गरेको व्यापारीले बताएका छन् ।
भारतीय ब्यापारीले जिल्लाको लोकमार्गमा पर्ने चन्द्रौटा र चौबन्नपुरमा खसीबोका झारेर नेपाली नंबरको ट्रकको बन्दोबस्त गरेर पठाई रहेका छन् । नेपालमा लामो समयदेखि भारतको उत्तर प्रदेश बहराईच, कानपुर र नानपाराका भारतीय ब्यापारीले काठमाडौंमा खसीबोकाको ब्यापार गर्दै आएका छन् । RSS, IMAGECHANNEL