चुनावी सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले आजबाट फ्ल्याग मार्च सुरु गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा आजबाट सेना खटाइएको सैनिक प्रवक्ता सहायकरथी जगदीश पोख्रेलले बताए ।
एक निर्वाचन क्षेत्रमा कम्तिमा ४० सेना रहने उनले जानकारी दिए । ‘आवश्यकता हेरेर त्यो भन्दा बढी पनि हुन सक्छन्’, पोख्रेलले भने,’तीन तहको सुरक्षा रणनीतिमा अन्तिममा सेना रहन्छ ।’
चुनावमा ६१ हजार नौसय ९५ सेना खटिदैछन् ।
सेनाले एकीकृत निर्वाचन सुरक्षा योजनामा बर्गिकरण गरिए अनुसार सामान्य जिल्लामा मतदान स्थलबाहेकको बाहिरी सुरक्षा जिम्मेवारी सम्हाल्नेछ । अतिसंवेदनशिल तथा संवेदनशिल जिल्लामा मतदान स्थलको तेस्रो घेरामा सुरक्षा प्रदान गर्नेछ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले सुरक्षा प्रदान गर्दै आएको महत्वपुर्ण प्रतिष्ठान, संरचनाको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ ।
चुनाबका बेला आपत्तकालिन समयमा गरिनुपर्ने उद्धारमा जनशक्ति, उद्धार सामाग्री तथा हेलिकप्टरको ब्यवस्थापन पनि सेनाले नै गर्नेछ । निर्वाचनको अवधीमा फेला पर्नसक्ने बिस्फोटक पदार्थलाई निस्तेज पार्न बम डिस्पोजल टोली परिचालन गर्नेछ । मतपत्र छपाईमा सेनाले सुरक्षा दिनेछ ।
बिकट क्षेत्रमा मतपत्र, मतपेटिका, तथा निर्वाचन सामाग्री ढुवानीको काम पनि सेनाले गर्ने तय भएको छ । आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम स्ट्राईकिङ र मोबाइल टोली परिचालन गरिनेछ ।
Source:Ekantipur