‘नेपाली सेना जन चाहनामा चल्छ’- भारतिय नेपालका लागि पूर्व भारतीय राजदुत जयन्तप्रसाद

नेपालका लागि पूर्व भारतीय राजदुत जयन्तप्रसादले नेपाली सेना जनताको मनोबिज्ञान र चाहनाअनुसार चल्ने भएकाले आसन्न संविधानसभाको चुनाव सन्दर्भमा सैन्य हस्तक्षेप अथवा कुनै अनर्थको आशंका नरहेको बताएका छन् ।
‘दोस्रो जनआन्दोलन उत्कर्समा पुगेका बेला र जनताले दरबार घेरिसकेका बेला तत्कालिन प्रधानसेनापति (रुक्मागत कटुवाल)ले राजा ज्ञानेन्द्रलाई गद्दी त्याग्न सुझाव दिएका थिए,’इन्स्टिच्युट अफ पिस एण्ड कन्फिलक्ट स्टडिजले आयोजना गरेको ‘आजको नेपाल’ बिषयक प्रवचनमा टिप्पणीकर्ता रहेका पूर्व राजदुत प्रसादले भने-‘म आफ्ना दाजुभाइ(सिटिजन)लाई गोली हान्न सक्दिना, बरु तपाईले गद्दी त्याग गर्नुहोस् भन्ने सुझाव प्रधानसेनापतिले दिएका थिए ।’ नेपाली सेना कानूनी दफा अथवा अरु आधारभन्दा जनताको इच्छा र सोचाइमा परिचालित हुनेतर्फ पुर्व राजदुतको संकेत थियो ।
कुटनीतिक जानकार डा.निश्चलनाथ पाण्डेले आसन्न निर्वाचन र संविधान लेखनको संभावनामा मन्तव्य राखेपछि पूर्व राजदूत राजनले ‘नेपालको भविष्यमा निराशाबादी हुनुभन्दा आशा र संभावनाको दृष्टि राख्नु’ उपयुक्त भनी टिप्पणी गरेका थिए । नेपालमा चल्ने गरेको विदेशी हस्तक्षेपको प्रभाव र हल्लाका बारेमा पूर्व राजदूतले ‘मुलुकका राष्ट्रिय नेताले गर्ने व्यवहार आधारमा हस्तक्षेपको अर्थ निर्दिष्ट हुने’ बताए ।
पुर्व राजदूत प्रसादले आसन्न संविधानसभाको निर्वाचन पछि प्रतिबद्धताअनुसार संविधान लेखिन नसकेमा राजनीतिक दलका यिनै नेताहरु फेरि फर्केर जनतासामु जान नसक्ने टिप्पणी गरेका थिए । ‘अबका दिनमा राजनीतिक दलका नेताहरु संविधान लेखनको प्रकृया बाहिर जानै सक्दैनन, यो जीवनमरणको सवाल हो,’उनले भने । उनले निर्वाचन बाहिर रहेका ३३ दलमा बैद्य समुहबाहेक अधिकांसको हैसियत गत संविधानसभाअनुसार ‘प्रभावहीन’ रहेको टिप्पणी गरेका थिए । उनले मधेशमा बिगतमा रहेका ३ वटा मुख्य दल फुटेर अहिले १४ वटा बनिसकेको सन्दर्भ उल्लेख गर्दै ‘तर चुनाव भएको अवस्थामा संविधान लेखिनेमा आफू ढुक्क रहेको’ बताए । चुनाव नभएको अवस्था अथवा संविधान लेखिन नसकेको अवस्थामा नेपालमा सेनाले हस्तक्षेप गर्न सक्ने संभावनाको बहसमाथि पुर्व राजदूतले दोहोर्याउँदै ‘असम्भव’ भनी टिप्पणी गरेका थिए ।   
भारत र चीन दुबैले नेपालको शान्ति र स्थिरता चाहेको भन्दै दुबै मुलुकसाग सहकार्य गरेर अघि बढ्न प्रसादले सुझाव दिएका थिए । दुइ महिनाअघि मात्रै आफ्नो कार्यकाल पुरा गरेर काठमाडौंबाट फिरेका राजदूत जयन्तप्रसादले प्राकृतिक सम्पदा र जलस्रोतका आधारमा नेपाल एशियाकै सम्पन्न मुलुक बन्न सक्ने बताएका थिए । ‘राजनीतिमा पनि नेपालले विश्वलाई हुने गरी नमूना काम देखाएको छ,’उनले भने’आफ्नै दलका बिद्रोही लडाकुलाई आफ्नै माओवादी सरकारअन्तर्गत सेना समायोजनमा लगेर शान्ति प्रकृयामा अद्भुत काम भएको देखिने नेपाल मात्रै हो ।’
सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक डा.पाण्डेले नेपालको आसन्न संविधानसभा निर्वाचनको परिणाममा कुनै दलको बहुमत नआए र फेरि पनि संयुक्त सरकारको स्थिती रहेमा संविधान लेखन असम्भव हुने धारणा राखेका थिए । अर्का वक्ता जवाहरलाल नेहरु विश्वबिद्यालयका रिसर्च स्कलर प्रमोद जैसवालले बिगतमा झैं यसपटक पनि मधेश राजनीतिको केन्द्र कायम रहेको धारणा राखेका थिए ।