– दीपेन्द्र शाक्य,
नेकपा-माओवादी संखुवासभाका सहसेक्रेटरी सहित २६ नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन । बिहीबार प्रेस विज्ञप्ति निकालेर पार्टीको ढुलमुले कार्यनीतिका कारण काम गर्न नसक्ने जनाउदै पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
उनीहरुले विज्ञप्तिमा आफूहरु स्वातन्त्र बामपन्थीको रुपमा रहने जनाएका छन् । पार्टी परित्याग गर्नेमा राज्य समिति सचिवालय सदस्य एवं जिल्ला सहसेक्रेटरी मनकुमार भण्डारी, राज्य समिति सचिवालय सदस्य दिब्यराज बराल, सचिवालय सदस्य एवं राष्ट्रिय युवा जनस्वयम सेवक जिल्ला उपाध्यक्ष अदलकुमार कुलुङ, जिल्ला सचिवालय सदस्य एवं काहुराष्ट केन्दि्रय सदस्य शंकर ढकाल, जिल्ला सचिवालय सदस्य एवं नगर सेक्रेटरी हरि जोशी, सचिवालय सदस्य एवं एन्टो सदस्य देवराज गिरी लगायतका छन् ।
यसैबीच, नेकपा-माओवादीले अर्को प्रेस विज्ञप्ती प्रकाशित गरेर पाटी विरोधी गतिविधी गरेकाले जना जिम्मेवार कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरी हटाइएको जनाएको छ । उसले जारी गरेको विज्ञप्तीमा दिब्यराज बराल, अदलकुमार कुलुङ र टेकमान राईलाई निस्कासन गरिएको उल्लेख छ । उनीहरुसँगै पार्टी परित्याग गर्ने अन्य २३ जना कार्यकर्ताको बिषयमा भने विज्ञप्तीमा केही प्रतिक्रिया दिइएको छैन ।
जिल्ला सेक्रेटरी आरपी किरातीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पार्टीको क्रान्ति विरोधी कृयाकलाप गरेकाले उनीहरुलाई कारवाही गरिएको उल्लेख गरिएको छ । विज्ञप्तीमा बैदेशिक दलालहरुको पद र प्रलोभनमा परी पार्टीको अनुशासन उल्लघन, गोपनियता भङ्ग, गुटबन्दीलगायत पार्टी विरोधी गतिविधी गरेको कारण पार्टीवाट निश्कासन गरिएको उल्लेख छ ।