कल्पना घिमिरे
उम्मेद्वार कार्यक्रम स्थल
पुष्पकमल दाहाल (एमाओवादी) राराहिल मावी, किर्तिपुर
रेणु दाहाल (एमाओवादी) विजय स्मारक उच्चमावी, डिल्लीबजार
देवेन्द्र पौडेल (एमाओवादी) जनमैत्री कलेज, कुलेश्वर
प्रकाशमानसिंह (काग्रेस) ब्लुस्काई स्कुल, घट्टेकुलो
निर्मल कुइँकेल (एमाले) जयभद्रकली स्कुल
प्रमुख राजनीतिक दलका उम्मेद्वारहरुले निर्वाचन आचारसंहिता उलंघन गर्दै विद्यालय हाता भित्र चुनावी गतिविधि संचालन गर्न थालेका छन् । संविधान सभा निर्वाचन आचारसंहिताको ३५ नम्बर बुँदामा ‘बिद्यालय र विद्यालय हाता भित्र आमसभा, माइकिङ् लगायत निर्वाचन प्रचारको काम गर्नु हुदैन’ भनिएको छ ।
आचारसंहिताको ३२ नम्बर बुँदामा ‘बालबालिकालाई जुलुस, र्याली, आमसभा, बैठक वा भेलामा सहभागी गराउन तथा प्रचार प्रसार र निर्वाचनसंग सम्बन्धीत अन्य कुनैपनि काम वा गतिविधिमा प्रयोग गर्नु र गराउनु हुदैन’ भन्ने पनि उल्लेख छ । तर यो प्रावधानप्रति दलका उम्मेद्वारले वेवास्ता गरेका छन् ।
एमाओवादीबाट काठमाडौं १ की उम्मेद्वार रेणु दाहालले बिहिबार डिल्लीबजारस्थित बिजय स्मारक उच्चमावीमा राजनीतिक अन्तरक्रिया गरिन् । बुधबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले किर्तिपुरस्थित राराहिल माध्यमिक बिद्यालयमा चुनावी अन्तरक्रिया गरेका थिए ।
काठमाडौं १ का एमाओवादीका प्रसारप्रचार समितिका संयोजक चन्द्रबहादुर थापा सागरले कार्यक्रम गर्न वरीपरि कतै उपयुक्त ठाँउ नपाएकाले स्कुलमा कार्यक्रम गरिएको बताए । ‘हामीले आकस्मिक ढंगले कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने, ‘त्यै स्कुलमा पढाउने शिक्षक, विद्याथी र बरपरका टोलबासी युवाहरुसंग भेटघाट गर्ने भएकाले विद्यालय व्यवस्थापन समितिको सहमतिमै केही समयका लागि स्कुलमा कार्यक्रम गरेका हौं ।’ उनले आकस्मिक ढंगले कार्यक्रमको आयोजना गरेकाले आचार संहिता उलङ्न नभएको दाबी गरे ।
कतिपयले स्कुलमा गरिने कार्यक्रम र भेलाबारे सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरिरहेका छन् । काठमाडौं ५ का कांग्रेसका उम्मेदवार नरहरी आचार्यले बुधबार आफ्नो फेसबुकमा चुनाबी प्रसारप्रचारका लागि पैदल यात्रा गर्नु अघि धुम्रबाराही स्कुल धुम्बाराहीमा भेला हुने भनेर सबैलाई सन्देश दिएका थिए ।
‘बिहान सात बजे धुम्बाराही स्कुल धुम्बाराहीमा भेला भई पैदलयात्रा सुरु गर्ने’ फेसबुकको स्टाटसमा उनले उल्लेख गरेका थिए । बाल अधिकारका क्षेत्रमा कार्यरत झनहरी भर्ट्टराइले आचार्यको स्टाटसमा प्रतिक्रिया दिदै ‘स्कुलमा भेला गर्नु आचार संहिता बिपरित हो, अन्तै भेला गर्ने कि ? तपाईको जानकारीका लागि’ भनेका थिए । आचार्यले ‘सतर्क गराएकोमा धन्यबाद’ भन्ने उत्तर दिए । त्यसपछि आचार्यले विद्यालय बाहिर भेला गरेर घरदैलो कार्यक्रम सुरुवात गरे ।
काठमाडौं १ का कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले पनि बुधबार ब्लुस्काइ स्कुलमा भेला गरी घरदैलो कार्यक्रम गरेका थिए । काठमाडौं ४ का एमाले उम्मेद्वार निर्मल कुइँकेलले कामनपा वडा नम्बर ७ को जय भद्रकली स्कुलमा भेला भइ घर दैलो गरेका थिए । काठमाडौं ९ का एमाओवादी उम्मेदवार देबेन्द्र पौडेलले जनमैत्री कलेज कुलेश्वरबाट जुलुस सुरु गरेका थिए ।
०६८ जेष्ठ ११ मा बसेको मन्त्री परिषदको बैठकले ‘बिद्यालय शान्ती क्षेत्र’ घोषणा गर्दै यसमा कुनैपनि किसिमका राजनीतिक कार्यक्रम गर्न नहुने व्यवस्था गरेको थियो ।
विद्यालयमै कार्यक्रमका गतिविधि बढ्न थालेपछि बालअधिकारमा सरोकार राख्ने संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । केन्दि्रय बाल कल्याण समितिले निर्वाचनका कुनैपनि गतिविधिमा बालबालिका र विद्यालय प्रयोग नगराउन राजनीतिक दल र सम्पूर्ण सरोकारवालाई आग्रह गरेका छन् । बिहिबार एक कार्यक्रमको आयोजना गरी समितिले निर्वाचन आचार संहिता उलङ्घन भइरहेकोबारे निर्वाचन आयोगलाई ध्यानाकषण गराएको छ ।
शिक्षकहरुलाई राजनीतिक प्रचार प्रसारमा संंलग्न गराएर पठनपाठनमा असर पार्ने, विद्यालय वरपर आमसभा र माइकिङ गरेर पठनपाठन बन्द गर्ने लगायतका काम गर्दा आचार संहिताको उलङघ हुने भन्दै समितिले सबैलाई सजग गराएको छ । कान्तिपुर