मतदानको दिन नजिकिँदै जाँदा निर्वाचनविरोधी गतिविधि बढेका छन् । ताप्लेजुङमा एमाओवादी उम्मेदवार सञ्चपाल मादेनलाई माओवादीले आक्रमण गरेका छन् भने दाङमा एमाले सचिव शंकर पोख्रेलको गाडी तोडफोड गरिएको छ । गोरखामा एमाओवादीको आक्रमणबाट एमाले नेता, कार्यकर्ता घाइते भएका छन्, गम्भीर घाइते एकलाई उपचारका लागि काठमाडांै ल्याइएको छ । सिरहामा एमाओवादी अध्यक्षको चुनावी कार्यक्रम क्ष्ाेत्रमा दुई ठाउँमा बम फेला परेको छ । पाल्पामा चुनावी अभियान गर्न गाउँ छिर्न लागेका एमाओवादीलाई माओवादी कार्यकर्ताले फर्काएका छन् । पाँचथरमा निर्वाचन सामग्री खोस्ने र जलाउनेलाई प्रहरीले पक्राउ गरेको छ भने कैलालीमा मसाल जुलुस गर्ने माओवादी कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।
एमाओवादी उम्मेदवारमाथि आक्रमण
ताप्लेजुङ -प्रहरीसहितको टोलीसँग सुतेका ताप्लेजुङ १ का एमाओवादी उम्मेदवार सञ्चपाल मादेनमाथि आक्रमण भएको छ । करिब ३० जनाको संख्यामा आएका नेकपा-माओवादीले शुक्रबार बिहान साढे तीन बजे आक्रमण गरेको एमाओवादी जिल्ला संयोजक खेलप्रसाद बुढाथोकी परागले बताए ।
आक्रमणबाट उम्मेदवार मादेनका साथै प्रचार समितिका सहसंयोजक काजी भट्टराई, वाईसीएल इञ्चार्ज तारा भट्टराई घाइते छन् । नगद, मोबाइल र प्रचारलगायत सामग्री लुटेको आरोप उनले लगाए ।
उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको भनिएका मादेनलाई साँझसम्म ल्याइपुर्याइएको छैन । घटनास्थल सदरमुकाम फुङलिङबाट १८ कोस टाढा पर्छ ।
आक्रमणमा नेकपा-माओवादी जिल्ला इञ्चार्ज सन्तोष पतंवा सुमनको नेतृत्वमा ३० जनाको टोली संलग्न रहेको परागको दाबी छ । ‘बिहान उज्यालो नहँुदै आएका उनीहरूले प्रहरीलाई नियन्त्रणमा लिएर हामीलाई आक्रमण गरे,’ उनले भने ।
मादेनको टोली मेहेले गाविसको आमसभा सकेर कमल भण्डारीको घरमा सुतेको थियो । उनीहरूले घरमा समेत तोडफोड गरेको एमाओवादीले जनाएको छ । पहिलेदेखि आफू असुरक्षित रहेको जानकारी गराएका मादेनका लागि प्रहरी नायब निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली परिचालन गरेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले घटनाको जानकारी पाउनासाथ सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरेको बताए ।
पोख्रेलको गाडीमा आक्रमण, तीन पक्राउ
दाङ – निर्वाचन क्षेत्र ४ का उम्मेदवार एमाले सचिव शंकर पोख्रेलको गाडीमा शुक्रबार नेकपा माओवादीले तुलसीपुरमा आक्रमण गरेका छन् । पोख्रेलको बा२च २७३४ नं. को गाडीमाथि उनीहरूले तुलसीपुर ५ नयाँ बसपार्कमा ढुंगामुढा गरेका हुन् ।
बसपार्कमा चुनावी सभालाई सम्बोधन गर्न पोख्रेल गाडीबाट ओर्लनेबित्तिकै तिलक योगीको नेतृत्वका माओवादी कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडबाट एमाले क्षेत्र ५ का उम्मेदवार उत्तरकुमार ओलीको चुनावी प्रचारमा प्रयोग भइरहेको रा१ज २७६ नम्बरको जिपमा पनि क्षति पुगेको छ । उनीहरूले कार्यकर्ता चढ्ने ४ मोटरसाइकललाई पनि तोडफोड गरेका छन् ।
कार्यक्रम स्थलमा प्रवेश गरेर कार्यक्रम सञ्चालन हुनै लाग्दा उनीहरूले चुनावविरोधी नारा लगाउँदै एकाएक गाडीमा आक्रमण गरेको एमाले क्षेत्र ४ का इञ्चार्ज मनोहर बुढाथोकीले बताए । तोडफोडमा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले बताए । पक्राउ पर्नेमा हेकुली ४ का २० वर्षीय सुरज परियार, तुलसीपुर ९ का १६ वर्षीय बुद्धि खड्का र तुलसीपुर ६ का १६ वर्षीय सुधीर बुढा छन् । चुनावी सभालाई सम्बोधन गर्दै एमाले नेता पोख्रेलले यस्ता आक्रमणले चुनावलाई प्रभावित पार्न नसक्ने बताए । ‘कोही डराउनु पर्दैन, चुनावी कार्यक्रम निर्धक्कसँग अगाडि बढ्छ,’ उनले भने ।
माओवादीका जिल्ला इञ्चार्ज इन्द्रजित थारूले बहिष्कार कार्यक्रमअन्तर्गत सामान्य अवरोध भएको बताएका छन् । केन्द्रीय कार्यक्रमअनुसार चुनावी गतिविधिमा रोक लगाउने क्रममा गाडीमा क्षति पुगेकाले यसलाई राजनीतिक रूपमै समाधान गर्नुपर्ने उनले बताए । ‘हामी यस घटनालाई राजनीतिक दलसँग पनि छलफल गरेर सहज बनाउने प्रयासमा छौं,’ उनले भने, ‘प्रहरीले तीन जनालाई पक्राउ गरेको छ, मुद्दा चलाउने काम भएमा हामीलाई उत्तेजित बनाउने काम हुन्छ । त्यसकारण बहिष्कार कार्यक्रमलाई जटिल नबनाउन सबैलाई आग्रह गरेका छौं ।’
यसैबीच माओवादी कार्यकर्ताले घोराहीको गैरागाउँ र क्वाडीमा निर्वाचन कार्यालयबाट मतदाता शिक्षा दिन प्रयोग भइरहेका नमुना मतपत्र जलाएको प्रहरीले जनाएको छ ।
एमालेमाथि एमाओवादी आक्रमण
पोखरा- एमाओवादीले आक्रमण गर्दा गोरखामा १२ एमाले कार्यकर्ता घाइते भएका छन् । गोरखा स्वाँरा ४ भन्ज्याङस्थित गाविस भवनमा बसेका एमाले कार्यकर्तालाई बिहीबार राति एमाओवादीले आक्रमण गरेका हुन् ।
आक्रमणबाट गम्भीर घाइते एमाले ताकुकोटका गाउँ उपाध्यक्ष धनप्रसाद गुरुङलाई उपचारका लागि काठमाडौं पठाइएको गोरखाका डीएसपी वसन्तबहादुर कुँवरले बताए । उनको टाउकामा चोट लागेको छ । अन्यको जिल्ला अस्पतालमा उपचार जारी छ ।
प्रहरीका अनुसार एमाले समर्थित एभरग्रीन युवा क्लब र बालक्लबको बैठक चलिरहेका बेला राति साढे दस बजे एमाओवादीले आक्रमण गरेका थिए । उनीहरूले रड, चिर्पट र खुकुरी प्रहार गरेका थिए ।
आक्रमणमा गोरखा बसपार्कका राजु रोका र स्वाँरा ८ का राजन विकसहित १०/१५ जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ । उनीहरू फरार छन् । डीएसपी कुँवरले आक्रमणकारीको खोजी भइरहेको टेलिफोनमा बताए ।
माओवादीद्वारा एमाओवादीको कार्यक्रम अवरोध पाल्पा संवाददाताका अनुसार नेकपा-माओवादीले क्षेत्र २ को दोभानमा एमाओवादी कार्यक्रम अवरुद्ध पारेका छन् । घरदैलो अभियानमा बिहीबार जाँदै गरेका एमाओवादी नेता कार्यकर्तालाई बाटोमै रोकेर फिर्ता पठाइदिएका हुन् ।
एमाओवादी दोभान गाउँ कमिटी इञ्चार्ज तथा जिल्ला सदस्य नारायण थापा र जिल्ला सदस्य राजेश श्रेष्ठ नेतृत्वको टोली दोभान २ झ्यान्टुङ जाँदै गर्दा प्रचारप्रसार सामग्री खोसेर फिर्ता पठाइएको हो । करिब ४० जनाको एमाओवादी प्रचार टोलीलाई ज्यामिरेबाट नेकपा-माओवादीका कार्यकर्ताले फिर्ता पठाएको स्थानीयले बताए ।
घरदैलो अभियानका लागि झ्यान्टुङ जाने क्रममा जिप र मोटरसाइकलको चाबी खोसेर आगजनी गर्न खोजेपछि फर्किएको श्रेष्ठले बताए । नेकपा-माओवादी जिल्ला इञ्चार्ज धीरज रानाले पार्टीको चुनाव बहिष्कार कार्यक्रमअन्तर्गत रोक लगाएको बताए ।
मसाल जुलुस गर्ने दुई पक्राउ
टीकापुर- कैलाली क्षेत्र २ अन्तर्गत बलिया गाविस लम्की बजारमा बिहीबार साँझ मसाल जुलुस गर्ने नेकपा-माओवादीका ध्रुव संज्याल र प्रकाश रावत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लम्कीका निरीक्षक राजेश कार्कीका अनुसार मसाल जुलुसमा संलग्न अन्य भने भाग्न सफल भएका थिए । संज्याल बलिया गाविसका इञ्चार्ज हुन् भने रावत थारूवान राज्यसमिति सदस्य रहेको माओवादी नेता भगत बडुवालले बताए ।
प्रचार सामग्री जलाउने प्रहरी नियन्त्रणमा
पाँचथर- चुनावमा लागेका दलहरूलाई अवरोध गर्ने र निर्वाचन सामग्री खोसेर जलाउने संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्का केन्द्रीय सदस्य संगम खनाल र पाँचथर जिल्ला अध्यक्ष लावाहाङ चेम्जोङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक सञ्जिवबाबु खड्काका अनुसार निर्वाचनविरोधी गतिविधि गरी शान्ति सुरक्षाको स्थिति बिगार्न खोजेको भन्दै सुरक्षा समितिले गरेको निर्णयअनुसार उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूले नागिन र फाक्तेपमा निर्वाचन प्रचार सामग्री गाविसबाट नियन्त्रणमा लिई जलाएका थिए ।
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरुको सहभागिताबिना बन्ने संविधान जनताका लागि स्वीकार्य नहुने बताएका छन् ।
जनयुद्धमा रहेको महत्त्वपूर्ण शक्तिलाई बाहिर राखेर बन्ने संविधान साँचो अर्थमा जनताको संविधान नबन्ने उनको भनाइ छ । ‘जनयुद्धमा रहेको ठूलो शक्तिलाई पाखा लगाएर जसरी अघि बढ्ने काम भयो,’ राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘यो नितान्त गलत हो, साँचो अर्थमा जनताको संविधान बन्ने वाला छैन, जनताले त्यस्तो संविधानलाई च्यातेर धूजा-धूजा पार्नेछन् ।’ उनले जनताको संविधान ‘एक, दुई, तीन’ नबन्ने ठोकुवा गरे ।
वैद्यले संविधानसभा जनता झुक्याउनका लागि पटक पटक प्रयोग गर्दै आएको उल्लेख गरे । ‘२००७ सालमा पनि एक्कासी संविधानसभाको कुरा आयो, संविधानसभाबाट संविधान बनेन,’ उनल