३ बुँदे सहमतिपछि मात्र पाल्पा दुर्घटनाको ३ दिनमा शव उठ्यो

गएको बिहिबार पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको शव ३ दिन पछि शनिबार बेलुकी आफन्तले जिम्मा लिएका छन् ।
चालकले जिप नचलाएर मालिकले चलाउँदा जिप दुर्घटना भएको  भन्दै श्रीनगर जिप व्यवसायी संघ पाल्पाले घाईतेको उपचार र मृतकलाई क्षतिपुर्ति नदिने बताएपछि आफन्तहरुले शव बुझ्न अस्विकार गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय, जिप व्यवसायी संघ र मृतकका आफन्तबीच दिउसो भएको ३ बुँदे सहमतिपछि मात्रै आफन्तले प्रहरीसंग शव बुझेका हुन् ।
पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी निरन ज्ञवालीका अनुसार दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल काजकिरिया खर्च स्वरुप प्रतिपरिवार २५ हजार रुपैयाँ समितिले दिने, घाईतेहरुको उपचारको लागि बढीमा १० हजार सम्म प्रदान गर्ने र घटनाको बारेमा अनुसन्धान गर्ने भनी सहमति भएको हो ।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी निरन ज्ञवाली, प्रहरी निरिक्षकहरु राजकुमार थिउजु र कृष्ण सापकोटा, श्रीनगर जिप समितिका सचिब दिपक श्रेष्ठ, कार्यालय प्रमुख भबिन्द्र गौतम र पीडित पक्षको सहभागिता थियो ।