लक्ष्मी साह
एमाले बारा क्षेत्र नं. ४ का उम्मेदवार महमुद आलम हत्या आरोपमा प्रहरीले एमालेकै पूर्वसभासद् रामचन्द्र प्यासी कुशवाहासहित दुई जनालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा आइतबार पत्रकार सम्मेलन गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्वसभासद् प्यासीसहित भारतीय नागरिक अतिक खान र राजु श्रीवास्तवलाई प्रहरीले सार्वजनिक गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख डीआईजी प्रकाश अर्यालले प्रारम्भिक रिपोर्टमा पूर्वसभासद् कुशवाहाको योजनामा आलमको हत्या भएको खुलेको जानकारी दिए । ‘हामी अनुसन्धान प्रक्रियामा नै छौं,’ उनले संवाददाताहरुसित भने, ‘हत्यामा उनीहरुको संलग्नताको आधार भेटिएको छ ।’
आलमसँग कुशवाहाको राजनीतिक द्वन्द्व पहिलेदेखि नै थियो । बाराको बन्जरिया- ७ निवासी ५० वर्षीय कुशवाहा विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा छन् भने एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् ।
पक्राउ परेका भारतीय नागरिक अतिक खान पेसाले सिभिल इञ्जिनियर हुन् । भारतको अलीगढ घर भएका ४२ वर्षीय खान बीरगन्ज- ४ लक्ष्मीटोल ब्यापार गर्दै आएका छन् ।
राजु श्रीवास्तव बर्मा भारतमा पत्रकारिता गर्दै आएका छन् । भारत रक्सौल- ४ घर भएका ३८ वर्षीय बर्माले सूचनाको व्यवस्थापन गरेको प्रहरीको दाबी छ ।
प्रहरीले आलम हत्या योजना ६ महिना अघिदेखिको भएको दाबी गरेको छ ।
डीआईजी अर्यालले काठमाडौंको जोरपाटीमा असोज ११ गते भारतीय नागरिक मोहम्मद सुनाहक र एमाले नेता आलममालाई गोली प्रहार गर्ने सुटर एउटै भएको दाबी गरेका छन् ।
एमाले उम्मेदवार आलममाथि असोज १८ गते बाराको परवानीपुरस्थित चसावती खाद्य उद्योगअगाडि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । गम्भीर अवस्थाका उनलाई असोज २४ गते शिक्षण अस्पताल महाराजगञ्जमा मृत घोषित गरिएको थियो ।