देशभर सवा करोड मतदाता-बढी भक्तपुर-२ मा,कम मनाङमा-दुई स्थानबाट तस्बिर खिचाएकाहरूको पहिलोलाई मान्यता

निर्वाचन आयोगले १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेको यकिन गरेको छ । यसमध्ये ६१ लाख ६६ हजार ८ सय २९ महिला, ५९ लाख ८० हजार ८ सय ८१ पुरुष र १ सय ५५ तेस्रो लिंगी छन् । सबैभन्दा बढी मतदाता भक्तपुर २ मा ८२ हजार २ सय १८ छन् भने कम मनाङमा ४ हजार ७ सय ९५ छन् ।
आयोगले फोटोसहितको मतदाता नामावलीमा भएको दोहोरोपन हटाउँदा मतदाता संख्यामा ३ लाख २९ हजार ४ सय १६ ले कमी भएको हो । यसअघि फोटोसहितको मतदाता नामावलीमा १ करोड २४ लाख ७७ हजार २ सय ८१ ले आफ्नो नाम दर्ता गराएको विवरण सार्वजनिक गरेको थियो ।
आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार देशभरिको मतदाता नामावली केन्द्रमा भिडाउँदा दोहोरा भएकाहरूको हटाउनुपरेकाले मतदाताको संख्या कम भएको हो । ‘फोटोसहितको मतदाता नामावली संकलनको क्रम तीन वर्षसम्म चलेका कारण कतिपयले भुलिएर र कतिपयले फरक स्थानबाट फोटो खिचाएको पाइयो,’ उनले भने, ‘दुई पटक फोटो खिचाउने व्यक्तिको पहिलो पटक उल्लेख भएको ठेगाना र विवरण राखी अर्को हटाइएको छ ।’
नामावलीको दोहोरोपन हटाउने क्रममा १६ वर्ष उमेर नाघेका तर गत साउन मसान्तभित्र १८ वर्ष उमेर नपुगेकाहरूलाई पनि गणना गरिएको छैन । ‘मतदाताको उमेर १८ वर्ष पूरा भएको हुनुपर्ने भए पनि राष्ट्रिय परिचयपत्र समेतको प्रयोजनका लागि १६ वर्ष उमेर पुगेकाहरूको पनि फोटो खिचिएको थियो,’ उनले भने, ‘नामावलीमा दोहोरोपन हटाउने क्रममा उनीहरूलाई पनि सूचीबाट बाहिर राखिएको छ ।’
आयोगले २ सय ४० निवर्ाचन क्षेत्रका लागि देशका १० हजार १३ स्थानमा मतदानस्थल र १८ हजार ४ सय ५६ मतदान केन्द्र तोकेको छ । मतदाता संख्याका आधारमा एकैस्थलमा एकभन्दा बढी मतदान केन्द्रहरू राखिएको प्रवक्ता राईले बताए । २०६४ को संविधानसभा निर्वाचनमा ९ हजार ८ सय २४ स्थानमा २१ हजार २ सय ८४ मतदान केन्द्र राखिएको थियो ।
‘मतदाता र मतदान केन्द्रको दूरी सम्भव भएसम्म घटाउने काम भएको छ,’ राईले भने, ‘त्यसैले मतदानस्थल विगतको भन्दा धेरै राखिएका हुन् ।’
आयोगले समानुपातिक प्रणालीका लागि हल्का रातो रंगको डेढ करोड मतपत्र छापेको छ । २ सय ४० क्षेत्रका लागि हल्का नीलो रंगको अलग-अलग मतपत्र छपाइको काम भने जारी छ । प्रत्यक्षतर्फ १ सय ९२ क्षेत्रका मतपत्र छपाइ भएको उल्लेख गर्दै प्रवक्ता राईले मतपत्र व्यवस्थापनको काम कार्ययोजनाअनुसार अघि बढेको बताए । छपाइका लागि आयोगले सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई १ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।