निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्न निर्देशन/मतदाताको संख्या घट्यो

निर्वाचन आयोगले आचार संहिता उल्लंघन गर्नेलाई कारवाही गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।आयोगका प्रवक्ता वीरबहादुर राईले आचार संहितालाई प्राथमिकतामा राखेको र कडाईका साथ कारवाही गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । कारवाही गर्न नसके लेखेर पठाउन भनेको पनि राईले बताउनुभयो ।
केही दलका उम्मेदवारबाटै आचारसंहिता उल्लंघन भएको खवर सार्वजनिक भएपछि आयोगले आचारसंहिता पालनामा कडाई गरिएको जनाएको हो । जिल्ला निर्वाचन अधिकृतले जिल्लामा नीतिगत र अन्य कारणले आचार सँहिता उल्लघंन गर्नेलाई कारवाही गर्न नसके घटनाको व्यहोरा खुलाई निर्वाचन आयोगमा जानकारी गराउन निर्देशन दिएको प्रवक्ता राईले जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फ १ सय ९२ क्षेत्रको मत पत्र छापियो
अहिलेसम्म प्रत्यक्षतर्फ एक सय ९२ वटा निर्वाचन क्षेत्रको मतपत्र छापिइसकेको छ । समानुपातिक तर्फको मतपत्र छापिइसकेको छ भने बाँकी रहेको प्रत्यक्ष तर्फको मतपत्रको छपाई पनि तोकिएकै समयमा सकिने आयोगको भनाई छ ।
२ महिनामा ५६ करोड ५८ लाख खर्च
निर्वाचन आयोगले चुनावका लागि दुई महिनामा ५६ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । भदौदेखि असोज मसान्तसम्म विभिन्न शीर्षकमा गरी ५६ करोड ५८ लाख १७ हजार ३ सय ३८ रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोगका अनुसार तालिमका लागि २३ करोड ५३ लाख, जिल्ला निर्वाचन कार्यालयका लागि ९ करोड १७ लाख, निर्वाचन अधिकृतको कार्यालयहरुका लागि ८ करोड १४ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै उपकरण तथा निर्वाचन सामाग्री खरिदका लागि ६ करोड ५७ लाख, सूचना प्रसारणका लागि ३ करोड ७८ लाख, फोटो सहितको मतदाता नामावलीको विशेष कार्यक्रम सञ्चालनका लागि ११ करोड ४० लाख खर्च भएको छ । जनक शिक्षामा भइरहेको मतपत छपाईका लागि १ करोड, कर्मचारीलाई प्रोत्साहन भत्ता १ करोड ५१ लाख र वीमा शिर्षकमा २ करोड ५० लाख रुपैयाँ खर्च भएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो ।
विनियोजन गरेको ७ अर्व ५६ करोड मध्ये ३ अर्व सरकारको हो भने ४ अर्व ५६ करोड दातृ निकायले सहयोग गरेका हुन् ।
मतदाताको संख्या घट्यो
देशभर कुल मतदाताको संख्या १ करोड २१ लाख ४७ हजार ८ सय ६५ रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि १ करोड २४ लाख ७७ हजार २ सय ८१ भनिएकोमा दोहोरिएका हटाउँदा र १६ देखि १८ वर्षकालाई कटाउँदा संख्या पहिले भन्दा घटेको हो ।
१६ वर्षकाले फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउन पाउने भएपनि १८ वर्ष नपुगि भोट आल्न नपाउने भएकाले उनीहरुलाई कटाउँदा मतदाताको संख्या घटेको निर्वाचन आयोगले जनाएको छ । कुल मतदाता मध्ये महिला ६१ लाख ६६ हजार ८ सय २९ र पुरुष ५९ लाख ८० हजार ८ सय ८१ जना छन् । तेस्रो लिंगी मतदाता १ सय ५५ रहेको निर्वाचन आयोगले जनाएको छ ।