चुनावको बहिष्कार र प्रतिरोधमा जुटेको नेकपा-माओवादीले निर्वाचन स्थगन गरी राजनीतिक सहमतिका लागि गोलमेच सभाको माग गरेको छ । उसले समय छदै सरकार र दलहरुलाई गम्भीर बन्न आग्रह समेत गरेको छ ।
माओवादी अध्यक्ष मोहन वैद्यले मंगलबार विज्ञप्ती जारी गर्दै भनेका छन् ‘परिणाममुखी राजनीतिक निकासका लागि आवश्यक पहल गर्न चार राजनीतिक दल तथा सरकारसँग फेरि पनि विशेष अनुरोध गर्दछौं ।’ उनले त्यसका लागि आवश्यक पहल गर्नका लागि अन्य राजनीतिक दल, नागरिक समाज र बौद्धिक व्यक्तित्वहरुसित पनि आग्रह गरेका छन् ।
उनले ‘जनयुद्ध’ मा संलग्न माओवादीको मुल हिस्सा सहित ३३ दलीय राजनीतिक मोर्चालाई पृथक राखेर हुन गइरहेको संविधानसभाको कुनै अर्थ र औचित्य नभएको र यसबाट संविधान पनि नबने दावी गरेका छन् । ‘यसले जनताको संविधान नबने र शान्ति प्रक्रियालाई पूरा गर्न नसक्ने मात्र होइन,’ विज्ञप्तीमा वैद्यले भनेका छन् ‘ उल्टो अर्को द्वन्द्व समेत निम्त्याउन खोदिै छ ।’
लचिलो भएर राखेको गोलमेच सहितको चार बुँदे प्रस्ताव चर दलले अस्विकार गरी वार्ता भङ्ग गरेको परिस्थितिमा आफूहरु अगाडि चुनाव बहिष्कारमा जानुको विकल्प नरहेको भन्दै वैद्यले चुनावमा भाग लिनु र बहिष्कार गर्नु दुवै समान राजनीतिक अधिकार र स्वतन्त्रताको विषय भएको बताएका छन् । उनले बहिष्कार आन्दोलनमा रोक लगाउने, आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने र मुद्दा लगाउने क्रियाकलाप रोक्न तथा पक्राउ परेकालाई बिना शर्त रिहाईको माग गरेका छन् ।