प्रहरीको गोलीबाट दुईको मृत्यु/६ प्रहरीसहित ९ घाइते

जानु पंगेनी                
एक महिलाको मृत्युलाई लिएर आक्रोशित स्थानियबासी र प्रहरीविच झडप हुँदा प्रहरीले चलाएको गोली लागि दुई सर्बसाधारणको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चापाकोट-६ का २१ वर्षीय सुर्य आले र चापाकोट ४ का १८ वर्षीय कृष्ण भट्टराई रहेको प्रहरी निरीक्षक सन्तोष तामाङले बताए । आले घरबाट बाहिर निस्कनसाथ गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन । उनी भींडमा सहभागी थिएनन् । भट्टराईको टाउकोमा गोली लागेको थियो ।
गत असोज २७ गते स्थानीय माया विकले आत्महत्या गरेकी थिइन् । घरेलु हिसांका कारण मृत्यु भएको भन्दै मंगलबार विहान स्थानीय जुलुससहित चापाकोट प्रहरी चौकी घेराऊ गर्न पुगेका थिए । घेराऊसँगै स्थानीयले चौकीमा ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज, अश्रुग्यास र हवाईफायर समेत गरेको थियो ।
तर भींड नियन्त्रणमा नआई थप उत्तेजित भएर प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले गोली चलाएको थियो । चौकी घेर्न करिव ३ सय गाउँले पुगेका थिए ।
प्ा्रहरीको लाठी चार्ज र अश्रुग्यास प्रहारवाट स्थानीय कर्ण श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ र गायत्री आचार्य घाइते छन । आचार्य कांग्रेस जिल्ला सदस्य हुन् । स्थानीयको ढुङ्गामुढाबाट एक निरीक्षकसहित ६ प्रहरी घाइते भएका छन् । आक्रमणबाट ईलाका प्रहरी कार्यालय रत्नपुरका निरीक्षक कृष्ण थापा घाइते छन् । थापा समस्या समाधानका लागि मंगलबार नै चौकीमा पुगेका थिए । उनको हातमा गहिरो चोट लागेको छ । अन्यको नाम खुलाइएको छैन् । घाइते स्थानीयलाई उपचारका लागि पोखरा पठाइएको छ ।
महिलाको मृत्युलाई लिएर केही दिनयता प्रहरी र स्थानीयबीच छलफल भइरहेको थियो । छलफल चलिरहेकै बेला मंगलबार बिहान स्थानीयले चौकी पुगेर घेराऊ गरेका थिए ।
‘ठूलो भींड उत्तेजित भएपछि यस्तो अवस्था आयो,’ स्थानीय मणी खनालले टेलिफोनमा भने, ‘प्रहरीले नियन्त्रण गर्न लाठी चार्ज गर्‍यो । त्यसपछि प्रहरीमाथि नै ढुंगामुढा भएपछि गोली चलेको हो । गोली लागिसकेपछि बल्ल अश्रुग्यास प्रहार गरिएको हो ।’
घटनालगत्तै चापाकोट पुगेका जिल्ला प्रहरी प्रमुख आभुषण तिमिल्सिनाले बिकको मृत्युका सम्बन्धमा पक्राऊ गरी रत्नपुर ईलाका प्रहरी कार्यालयमा राखिएका श्रीमानसहित ३ जनालाई चापाकोटमा ल्याउनुपर्ने माग अस्वीकार गर्दा भींड उत्तेजित भएको बताए । ‘पक्राउ परेकालाई ल्याउन मिल्दैन भन्ने क्रममा उत्तेजित भएर ढुंगामुढा र चौकी तोडफोड गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको हो,’ तिमिल्सिनाले भने, ‘घटनाको बिस्तृत छानविन हुनेछ ।’ उत्तेजित भींडले प्रहरी चौकीको कम्पाउन्ड, बरन्डा  भत्काइदिएको छ ।
घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । त्यहाँको अवस्था सामान्य भएको छ ।