सुनसरीको इटहरीस्थित सेनाको पूर्वी पृतनामा सैनिक जवानद्वारा गोली हानी ‘आत्महत्या’

– विनय राजवंशी, माधव घिमिरे                
सुनसरीको इटहरीस्थित सेनाको पूर्वी पृतना मुख्यालयमा एक जवानले बुधबार आत्महत्या गरेका छन् । ड्युटीमा रहेकै बेला झापाको लक्ष्मीपुर घर भएका २३ वर्षीय भीमबहादुर कटुवालले ‘आत्महत्या’ गरेको पृतना स्रोतले जनाएको छ ।
ड्युटीमा रहेकै बेला सहकर्मीलाई ‘जमदार सा’बले बोलाउनुभएको छ’ भनेर कार्यालयतिर पठाएपछि आफ्नो र सहकर्मीको गरी दुईवटा हतियार प्रयोग गरी उनले आत्महत्या गरेको सैनिक स्राेतले जनाएको छ । उनको टाउकामा दुई र कोखामा तीन गोली लागेको भेटिएको थियो ।
शवलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पुर्‍याइएको छ । अबिबाहित कटुवालको प्रेम सम्बन्धका कारण तनाव भएर आत्महत्या गरेको हुन सक्ने अनुमान पृतना कार्यालयका अधिकारीले गरेका छन् ।
‘उनको फोन डिटेल्स मगाएर विस्तृत अनुसन्धान भइरहेको छ’ स्रोतले भन्यो, ‘के कारणले तनावमा आएर त्यसो गरेको भन्ने बुझ्ने प्रयास भइरहेको छ ।’ सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले पृतनामा भएको घटनाबारे आफूले अनौपचारिक जानकारी पाएको उल्लेख गरे । उनले सैनिक जवानले आत्महत्या गरेको भन्ने जानकारी आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
घटनापछि प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीसहितको टोली पुगेर घटनाबारे बुझेको थियो । माझीले कुनै कारणबश उत्पन्न तनावमा कारण जवान कटुवालले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताए ।