तिहारमा पटका पड्काउन निषेध गरिने

काठमाडौं । रमाइलो पर्व तिहारमा पटकाकै कारण धनजनको ठूलो क्षति हुने भएकाले प्रहरीले पटका पड्काउन निषेध गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अर्जुन चन्दले तिहारमा पटका पड्काउन निषेध गरेको जानकारी दिँदै जबर्जस्ति पटका पड्काउनेलाई प्रहरीले तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनुभयो । 
उहाँले दसैँ, तिहार तथा छठ पर्व र संविधानसभा निर्वाचन एउटै समयमा परेकाले यी सबैलाई केन्दि्रत गरी सबै युनिटमा पर्याप्त प्रहरी परिचालन गरिएको उल्लेख गर्दै जहाँ-जहाँ पटका पड्किन्छ, त्यहीँको इलाका प्रहरीले पक्राउ गरी कारबाही गर्ने बताउनुभयो ।
विगतका वर्षहरुमा पटकाका कारण धेरै जनधनको क्षति भएकाले त्यसको नियन्त्रण गर्न गत दुई वर्षदेखि प्रहरीले पटका पड्काउन निषेध गरेको हो । प्रवक्ता चन्दले तिहार पर्वमा अहिलेसम्म पटका ल्याउने, बिक्री वितरण गर्ने, पड्काउने कुनै पनि फेला नपरेको दाबी गर्नुभयो ।
प्रहरीले पर्वका अवसरमा ठूलो दुर्घटना हुन सक्ने भएकाले माइकिङ गर्दै पटका नपड्काउन चेतनामूलक सन्देश प्रवाहसमेत सुरु गरको उहाँले जानकारी दिनुभयो । रासस