तिहारको बेला ताप्लेजुङका ४ घरमा आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमवार दिउँसो भएको आगलागीमा ४ वटा घर जलेर नष्ट भएको छ ।
दिउँसो २ वजे काजी मादेनको घरबाट सल्किएको आगो फैलँदा भद्र बोखिम, दावाएन लामा र पृथ्वीध्वज लिम्बुको पनि घर नष्ट भएको हो । सेलरोटी पकाउने क्रममा सिलिण्डरबाट ग्यास लिग भएर आगो सल्किएको गाउँलेको भनाई छ ।आगो अरु घरमा फैलन नदिन नजिकका ६ वटा घर भत्काइएको छ । कौशीमाया पतङ्वा, महेन्द्र केसी, पासाङ शेर्पा, डण्डु शेर्पा र पूर्णसिंह मावोको घर भत्काइएको हो ।
आगलागीका कारण ४ घरका घरधनी र डेरावाल गरी १५ परिवार बिस्थापित भएका छन् । आगो फैलन नदिन नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा सशस्त्र प्रहरीको टोलीले घर भत्काए पनि आगो नियन्त्रणको प्रयास चौथो घर जलुञ्जेलसम्म असफल भयो ।
दमकलको भएको र पानीको पनि समस भएकाले आगो निभाउन कठिन भएको थियो । मानिसहरु ब्यस्त भएको समयमा आगो लागेकाले र धेरैजसो घर काठबाट बनेकाले चाँडै नियन्त्रणमा लिन नसकेको स्थानीय दिनेश अधिकारीले बताउनुभयो । आगलागी पीडितहरु आफन्त र छिमेकीकोमा शरण लिएर बसेका छन् ।
आगालागीबाट कति मुल्य बराबरको क्षति भयो भन्ने यकिन भइनसकेको प्रहरी प्रमुख गोविन्दप्रसाद आचार्यले जानकारी दिनुभयो ।अधिकांशका घरमा पसल रहेको र अलैंची तथा छुर्पीको कारोवार गर्ने व्यपारी रहेकोले करिब २ सय मन भन्दा बढी अलैंची तथा छुर्पी डढेको अनुमान गरिएको छ । यसबाट करिब चार करोड रुपैयाँ  क्षति भएको अनुमान गरिएको छ ।
ताप्लेजुङमा यसअघि २०६० साल चैत १५ गते विरेन्द्रचोक क्षेत्रमा आगलागी हुँदा ४५ घरमा क्षति भएको थियो । त्यसैगरी २०६९ साल माघ २८ गते राती शेर्पा टोल क्षेत्रमा भएको आगलागीमा ८ घर क्षति भएको थियो ।