काठमाडौं – तिहारको अवसरमा राष्ट्रपति रामवरण यादव, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसहित राजनीतिक दलहरुले शुभकामना दिएका छन् ।
राष्ट्रपति यादवले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् ।
अन्धकार हटाई उज्यालो ल्याउने विशेष चाडको रुपमा मनाइने शुभ दीपावली तथा तिहार पर्वले नेपालीहरुको आर्थिक समृद्धि र आपसी भातृत्व तथा सामाजिक सद्भाव एवम् एकता कायम गर्दै समाजमा शान्ति, स्थायीत्व र प्रगति हासिल गर्न प्रेरणा दिने राष्ट्रपतिले विश्वास लिएका छन् । उनले आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचनमा सबै नागरिक सचेत भई राष्ट्र र राष्ट्रियताको निमित्त सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गर्ने विश्वास लिएका छन् ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले पनि शुभकामना सन्देश दिँदै अग्रगामी संविधान निर्माणमा सवैलाई प्रेरणा मिल्ने विश्वास लिएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि तिहारको शुभकामना दिँदै सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । EKANTIPUR