एकीकृत नेकपा माओवादीले देशका विभिन्न स्थानमा लुकाएर राखेका ६ सय थान अत्याधुनिक हतियार केही महिना अघि मात्र नेपाली सेनालाई जिम्मा लगाएको रहस्य खुलेको छ ।
शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले लडाकु र हतियार प्रमाणित गर्दा यी हतियार दोखाइएको थिएन । त्यस बेला माओवादीले शान्ति प्रक्रियामा आइसकेपछि भर्ती खोलेर उमेर नपुगेकासमेत जम्मा गरी ३० हजारभन्दा बढी लडाकुको नाम दर्ता गरेको थियो ।
माओवादीले आफूसँग भएका आधुनिक हतियार अन्यत्र लुकाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट लुटेकामध्ये ३४ सय हतियारमात्र शिविरका कन्टेनरमा राख्न अनमिनलाई बुझाएको थियो ।
त्यतिबेलै उसले भएका सबै हतियार नबझाएको आशंका गरिएको आजको अन्नपूर्णमा खबर छ ।
यही कात्तिक २१ गते राति खुलेको नयाँ रहस्य अनुसार एमाओवादीले ६ सय थान अत्याधुनिक र अटोमेटिक हतियार केही महिनाअघि मात्र सेनाको जिम्मा लगाइएको थियो । यसमा इन्सास राइफल र पेस्तोलसमेत रहेका छन् । निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीलाई हतियार नपुगेपछि लडाकुले बुझाएका हतियार खोज्ने क्रममा यो रहस्य खुलेको हो ।
–
setopati.com