काठमाडौं – संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्न युरोपियन युनियन (ईयू) निर्वाचन पर्यवेक्षण मिसनले ४० अल्पकालीन पर्यवेक्षकहरू बुधबार देशभर परिचालन गरेको छ । समूहमा ईयूका २६ सदस्य राष्ट्रका साथै स्विट्जरल्यान्ड र नर्वेबाट समेत सहभागी छन् ।
पर्यवेक्षकहरू कात्तिक २५ गते काठमाडौं आइपुगेका हुन् । दुई दिनको विस्तृत जानकारीपश्चात उनीहरू कात्तिक २ गतेदेखि नै देशभर परिचालित ईयूका ३४ जना दीर्घकालीन पर्यवेक्षकसँग बुधबार संलग्न भएका हुन् । समग्रमा, मुख्य टोलीसहित युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (ईयू ईओएम) का ८३ जना पर्यवेक्षकहरू अहिले देशभर कार्यरत रहेको मिसनले जनाएको छ ।
‘निर्वाचनका दिन ईयू सदस्य राष्ट्र र स्विट्जरल्यान्डको दूतावासका स्थानीय रूपबाट भर्ना गरिएका २० जना अल्पकालीन पर्यवेक्षकहरूले पनि ईयू ईओएमको छातामुनि पर्यवेक्षण गर्नेछन्,’ मिसनले भनेको छ । युरोपेली संसदो एक प्रतिनिधिमण्डल पनि निर्वाचनका दिनका लागि ईयू ईओएममा संलग्न हुनेछ ।
‘सबै पर्यवेक्षकहरू मतदान र मतगणना प्रक्रियाका लागि देशभरका सहरी र ग्रामीण क्षेत्रमा समेत उपस्थित हुनेछन् । हाम्रो उपस्थितिले शान्तिपूर्ण प्रक्रियाका लागि अनुकूल वातावरण बनाउन योगदान गर्नेछ भन्ने हामीलाई आशा लागेको छ,’ ईयू ईओएमकी प्रमुख पर्यवेक्षक इभा जोलीले भनिन् । ‘सबै दल तथा तिनका समर्थकहरू मंसिर ४ मा हुने निर्वाचनको दिन तथा त्यसको अघि र पछिसमेत कुनै पनि प्रकारको हिंसाबाट टाढा रहनेछन् भन्ने मैले हार्दिक आशा गरेकी छु,’ उनले थपिन् । मिसनले निर्वाचनको दुई दिनपछि प्रारम्भिक निष्कर्षहरूबारे वक्तव्य जारी गर्ने भएको छ । EKANTIPUR.COM