संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीद्धारा चुनावमा सहभागी हुन अपील

काठमाडौं, मंसिर २ – संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले चुनावमा सहभागी हुन अपील गरेका छन् ।
आइतबार साँझ सिंहदरवारबाट सम्बोधन गर्दै उनले इतिहासले नेपाली नागरिकलाई दोस्रोपटक संविधानसभा चुनावमा भाग लिने अवसर दिएको भन्दै चुनावमा सहभागी हुन अपील गरेका हुन् । ‘यस निर्वाचनबाट गठन हुने संविधानसभाले नेपालीको चाहनाअनुरुपको संविधान निर्माण गरी संवैधानिक र राजनैतिक निकासको मूल ढोका खोल्दै शान्ति प्रक्रिया सार्थक निष्कर्षमा पुर्‍याउने विश्वास मैले लिएको छु,’ रेग्मीको आह्वान थियो ।
रेग्मीले आगामी संविधानसभा निर्वाचन विगतमा हासिल गरिएका राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने प्रक्रियाको निरन्तरता रहेको बताए । ‘संविधानसभाको निर्वाचन आफैमा लोकतन्त्रको एक महत्वूर्ण अभ्यास भएकाले हाम्रो सहभागिताबाट लोकतन्त्र थप सुदृढ भई यसको सँस्थागत विकासमा नयाँ आयाम थपिने पनि स्पष्ट छ,’ उनले सम्बोधनमा भने, ‘यो निर्वाचनमा हामीले गरेको मतदानबाट नेपाली जनताको आकांक्षा पूरा भई नयाँ पुस्ताको भविष्य निर्धारण हुनेहुँदा यो निर्वाचनमा भाग लिने प्रत्येक नेपालीको मतको ठूलो महत्व छ ।’ रेग्मीले चुनावमा सवै नेपाली नागरिकको सहभागिता हुने विश्वास व्यक्त गरेका छन् ।
२०६४ साल चैत्र २८ गते सम्पन्न संविधानसभा निर्वाचनमार्फत गठित तत्कालिन संविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै संविधान निर्माण सुरु गरेको स्मरण गर्दै उनले त्यसपछि जटिलता उत्पन्न भएको बताए । ‘संविधान लेखन कार्यले पूर्णता नपाउँदै तत्कालिन संविधानसभा विघटन हुनपुगेका कारण हाम्रो संविधान लेखनको चाहना साकार हुन त सकेन नै, संविधानसभा विघटन सँगसँगै देशमा एकैपटक संवैधानिक तथा राजनीतिक जटिलताको स्थिति उत्पन्न हुनपुग्यो,’ उनले भने ।
रेग्मीले दोस्रोपटक इतिहासले दिएको विशेष अवसरको सदुपयोग गर्दै आगामी संविधानसभाले विद्यमान संक्रमणकाललाई अन्त्य गर्ने विश्वास व्यक्त गरे । उनले सरकारले भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गबाट निर्वाचन सम्पन्न गर्न आठ महिनादेखि गरेका सबै कार्यले सफलता प्राप्त गरेको बताए ।
अध्यक्ष रेग्मीले निर्वाचनमा शान्तिसुरक्षाको महत्वलाई आत्मसात गर्दै निर्विघ्नतापूर्वक निर्वाचन सम्पन्न गर्न सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको बताए । ‘राज्यको प्रथम दायित्व शान्तिसुरक्षा भएकाले सबैलाई सुरक्षाको प्रत्याभूति गराउन सरकार दृढ रहेको कुरा पटक-पटक सार्वजनिक भइसकेको छ,’ उनले भने ।
हड्ताल अवज्ञाको प्रशंसा
रेग्मीले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको १० दिने यातायात हड्ताल जनस्तरबाट भएको अवज्ञाको प्रशंसा गरे । ‘केही दिनदेखि निर्वाचन बहिष्कार गर्ने प्रयोजनका लागि आव्हान गरेको भनिएको बन्द र हड्ताललाई तिरष्कार गर्दै आमजनसमुदाय, नागरिक समाज, सञ्चारमाध्यम, व्यवसायी, उद्यमी लगायत सबैले स्वःस्फूर्त रुपमा अवज्ञा गरी जनजीवन सामान्य भइरहेको अवस्थाबाट हामी थप उत्साहित भएका छौँ,’ उनले भने, ‘लोकतन्त्र, विधिको शासन र मानवअधिकारको प्रत्याभूतिका लागि आमजनसमुदायको सहभागिता कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यसपटकको आमहड्तालमा जनस्तरबाट भएको अवज्ञाबाट पुष्टि भएको छ । सार्वजनिक महत्वको यस कार्यमा आमनागरिकले प्रदर्शन गरेको साहस र जिम्मेवारीबोधका लागि नेपाल सरकारका तर्फबाट सबैलाई धन्यवाद दिन चाहन्छु ।’
बहिस्कारवादीप्रति कडा टिप्पणी
रेग्मीले माओवादी नेतृत्वको मोर्चाले पूर्वप्रतिबद्धताविपरीत हिंसात्मक गतिविधि गरेकोमा चिन्ता व्यक्त गरे ।
‘उहाँहरुले सार्वजनिक रुपमा नै बहिष्कार शान्तिपूर्ण हुने कुराको उद्घोष गर्नुभएको कुरा पनि म यहाँ स्मरण गर्न चाहन्छु,’ उनले भने, ‘संविधानसभाको निर्वाचनमा भाग नलिनु एउटा कुरा हो, तर बहिष्कारको नाममा आफूले सार्वजनिक रुपमा व्यक्त गरेको धारणाविपरित राजनीतिमा हिंसाको प्रयोग हुनु अत्यन्त दुःखदायी विषय हो ।’
लोकतान्त्रिक प्रणालीमा निर्वाचन प्रक्रियाप्रति विमति राख्दै निर्वाचनमा सहभागी नहुनु स्वतन्त्रता र राजनैतिक दलको स्वेच्छाको विषय भए पनि संविधानसभाको चुनावमा फरक भएको बताए । उनले हदैसम्म लचिलो भएर सहमतिको प्रयास गर्दा पनि विरोधीहरु नआएको बताए ।
निर्वाचनमा आफ्नो सैद्धान्तिक असहमति रहेको भन्दै निर्वाचनमा सहभागी नभई शान्तिपूर्ण बहिष्कार गर्ने भनी प्रचारबाजी गर्ने र  आमजनसमुदायलाई लक्षित गरी विध्वंसात्मक र हिंसात्मक कार्यको सहारा लिई निहत्था यात्रु बसेका सवारी साधन तोडफोड गर्ने, आगजनी गर्ने, सार्वजनिक ठाउँमा बम राखी सर्वसाधारणलाई आतङ्कति पार्ने र ज्यान मर्नेसम्मको कार्य गर्नु मानवताविरोधी एवं अमानवीय कार्य भएको उनले बताए ।
‘त्यस्ता अमानवीय, क्रुर एवं हिँसात्मक र कायरतापूर्ण कार्यको म घोर भर्त्सना गर्दछु । साथै, त्यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कानूनबमोजिम कारबाही चलाउन सरकार दृढ संकल्पित रहेको पुनः जानकारी गराउन चाहन्छु,’ उनले भने ।
रेग्मीले अदालतको आदेश पालना नगर्ने माओवादी अध्यक्ष मोहन वैद्यको भनाइ संविधान र कानून विपरीतको कार्य र गैरजिम्मेवारीपनाको पराकाष्ठा भएको टिप्पणी गरे । उनले बन्द, हड्ताल लगायत विरोधका सम्पूर्ण कार्यहरु तत्काल रोकी राजनैतिक व्यवहार प्रदर्शन गर्दै जनभावनाको सम्मान गर्न आग्रह गरे । ‘यसबाट नै आगामी दिनका लागि उहाँहरुको राजनैतिक मर्यादा र भविष्य पनि सुरक्षित अवतरण हुनसक्दछ,’ उनले भने ।

सम्बोधनको पूर्णपाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
१. नेपाली राजनीतिक इतिहासको विशेष परिस्थितिमा २०७० मंसिर ४ गते हुनलागेको संविधानसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा यहाँहरुलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा नेपालको राजनीतिक संघर्षका विभिन्न आन्दोलनहरुमा देश र जनताको पक्षमा लाग्ने क्रममा आ