एमालेको चितवन जिल्ला कार्यालयमा पेट्रोल बम प्रहार

चितवन- नेकपा एमालेको चितवन जिल्ला कार्यालयमा आइतबार साँझ पेट्रोल बम प्रहार भएको छ। 
भरतपुर नगरपालिका वडा नं. १० मा रहेको सो कार्यालयमा मोटरसाइकल चढेर आएका व्यक्तिहरुले गेटबाट भित्र पेट्रोल बम हानेर भागेको एमाले चितवनका सचिव तेजेन्द्रबहादुर खड्काले बताए। 
चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बाहिरबाट प्रहार भएको पेट्रोल बम पार्टी कार्यालयको बरण्डामा आएर पड्केको थियो। विष्फोटपछि लागेको आगो तुरुन्तै नियन्त्रणमा लिएकाले कुनै ठुलो क्षति नभएको कार्कीले बताए।
पार्टी कार्यालयमा एमओवादीका कार्यकर्ताबाट पेट्रोल बम प्रहार भएको एमालेले आशंका गरेको छ। पार्टी कार्यालयमा विष्फोट हुनुअघि नारायणगढ बजार नजिक बेलटाँडीमा एमाओवादी चितवन क्षेत्र नं. ३ का उम्मेद्वाार नारायण दाहालको गाडी तोडफोड भएको थियो।
चितवनमा शनिबार साँझ भरतपुर चौविसकोठीमा एमाले र एमाओवादीका कार्यकर्ताबीच झडप भएको थियो। त्यस्तै क्षेत्र नं. ५ अन्तर्गत रहेको माडीको कल्याणपुर गाविसमा पनि शनिबार राती एमाले र एमाओवादीका युवाहरुबीच झडप भएको थियो।
घटनामा प्रष्ट संलग्नता कसैको नखले पनि माओवादी र एमाले एकअर्कामा दोषरोपण गर्न थालेका छन्। बेलटाडीमा एमालेका कार्यकर्ताले गाडी तोडफोड गरेको माओवादीको आरोप छ। त्यस्तै पार्टी कार्यालयमा भएको विष्फोटको घटनामा एमाओवादीको हात रहेको एमालेको जिकिर छ।
‘अवस्था केही संवेदनशील बन्दै गएपछि एकीकृत नेकपा (माओवादी) र एमालेका शिर्ष नेताहरुलाई एकै ठाउँ राखेर छलफल गर्यौंक। सुरक्षा अवस्था कडा बनाइएको छ। चेक जाँच बढाइएको छ। कर्फ्य नै लागेको भने होइन’ चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले भने। NAGARIKNEWS