काठमाडौंका सबै क्षेत्रको चुनावी नतिजा सार्वजनिक, कांग्रेस ७ स्थानमा विजयी

काठमाडौ  – काठमाडौंका सबै क्षेत्रको चुनावी नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार कांग्रेस काठमाडौंको १० मध्ये ७ स्थानमा विजयी बनेको छ । उसले काठमाडौं क्षेत्र नम्बर १, ४, ५, ६, ८, ९ र १० मा जित हात पारेको हो ।
बाँकी सिट भने एमालेले जितेको छ । क्षेत्र नम्बर २ मा एमालेका माधवकुमार नेपाल, ३ मा रामेश्वर फुयाँल र ७ मा रामवीर मानन्धर निर्वाचित भए ।
कांग्रेसको क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह, ४ बाट गगन थापा, ५ बाट नरहरी आचार्य, ६ बाट भीमसेनदास प्रधान, ८ बाट नविन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र १० बाट राजन केसी विजयी भए ।
अघिल्लो निर्वाचनमा काठमाडौंका चार स्थानमा विजयी बनेका एमाओवादी उम्मेदवारहरु यसपटक निराश बने । अघिल्लो निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट भारी मत अन्तरले विजयी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल यो पटक कांग्रेस उम्मेदवारसँग पराजित भए ।
क्षेत्र नम्बर ४ मा गगन थापालाई कडा टक्कर दिने ठानिएका एमाओवादी उम्मेदवार नन्दकिशोर पुन तेस्रो भए । EKANTIPUR